२०८३ बैशाख २१ गते , सोमबार

आज अधिकमास अर्थात् मलमास सकिँदै

sajilo news
झापा
२०८० श्रावण ३१ गते , बुधबार
आज अधिकमास अर्थात् मलमास सकिँदै

यही साउन २ गते  शुरु भएको अधिकमास अर्थात् मलमास बुधबार सकिँदैछ। सामान्यतया एउटा सौरमासमा दुईवटा औँसी पर्दा अधिकमास हुन्छ। यो महिना साउन २ गते र बुधबार औँसी परेको हो। बुधबार दिउँसो २१ घडी ५ पला अर्थात् २ बजेर १ मिनेटसम्म औँसी तिथि छ।

भगवान् विष्णु अर्थात् पुरुषोत्तम​को आराधना गरिने भएकाले मलमासलाई पुरुषोत्तम महिना पनि भन्ने गरिएको छ। मलमासको अन्तिम दिन श्रद्धालुले व्रत, उपवास लिन्छन्। यो दिन भगवान् विष्णु को जप, पूजा, भजन कीर्तन तथा पुराण पाठ गर्नुका साथै दान गर्ने प्रचलन छ। काँसको थालमा भगवान् विष्णुका नामले ३३ वटा मालपुवा राखेर घिउ, तिल र सुनको प्रतिमासहित वस्त्रले ढाकेर दान गर्ने परम्परा छ।

प्रत्येक तीन वर्षमा एकपटक आउने मलमास अवधिमा कुनै शुभ र नयाँ कार्यको थालनी गर्न नहुने परम्परा रहेको नेपाल पञ्चाग निर्णायक समितिका पूर्व अध्यक्ष प्राध्यापक डा.रामचन्द्र गौतमले बताए।

मलमास सम्पन्न भएसँगै शुद्ध महिनाका तिथि शुरु हुनेछ। मलमासका कारण यो वर्ष जनैपूर्णिमा, तीज, सोह्रश्राद्ध, दशैँ र तिहार जस्ता चाडपर्व एक महिना पछाडि धकेलिएका छन्। 

सूर्यमानअनुसार वर्षमा ३६५ दिन र चान्द्रमान अनुसार वर्षमा ३५४ दिन हुन्छ। यसरी हेर्दा सूर्य र चन्द्रमानबीच वर्षमा लगभग ११ दिनको फरक आउँछ। तीन वर्षमा ३३ दिनको फरक पर्ने भएपछि त्यही एक महिनालाई अधिकमास भन्ने गरिएको हो। 

अधिकमास पर्ने वर्षमा सूर्यमानअनुसार वर्षमा १२ वटै महिना रहे पनि चान्द्रमान अनुसार १३ वटा महिना पर्न आउँछ। सूर्य र चन्द्रमाको गति मिलाउन अधिकमास पर्छ। काठमाडैंको चन्द्रागिरि नगरपालिकास्थत मच्छेनारायणमा लागेको एकमहिने मेला पनि बुधबार नै समापन गरिँदैछ।

सम्बन्धित समाचार