राजनीतिक खिचातानीका कारण संसद् अवरुद्ध नगर्न रवि लामिछानेको चेतावनी
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक खिचातानीका कारण संसद् अवरुद्ध नगर्न चेतावनी दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी झापाद्वारा आज बिर्तामोडको सिटी सेन्टरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले राजनीतिक खिचातानीका कारण धेरै समय संसद्लाई बन्धक बनाउन नमिल्ने बताए ।‘
जनताका धेरै कुरा उठाउनु छ’ उनले भने,‘ चाँडोभन्दा चाँडो सदन खुलाउनुस् ।’ सुन तस्करी प्रकरणको अनुसन्धानमा उच्चस्तरीय छानबिन आयोगको माग राखेर एमालेले लगातार संसद् अवरुद्ध गरिरहेको छ । अवरोधकै कारण सभामुख देवराज घिमिरेले साउन १० मा अघि सारेको कार्यसूचीमा संसद् प्रवेश गर्नै पाएको छैन ।
सभामा लामिछानेसहित केन्द्रीय महामन्त्री डा. मुकुल ढकाल, सङ्घीय संसद्का प्रमुख सचेतक सन्तोष परियार, सांसद निशा डाँगी, केन्द्रीय सदस्य रमेश प्रसाईँलगायतका केन्द्रीय नेताहरूले सम्बोधन गरेका थिए । आजै सभापति लामिछानेले दमकमा आयोजित जनसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आज र भोलि दुई दिनमा लामिछानेले झापामा ८ वटा सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।