२०८३ बैशाख २० गते , आईतबार

शिक्षकलाई नधम्क्याउन संघीय र स्थानीय सरकारलाई एमाले अध्यक्ष ओलीको चेतावनी

sajilo news
झापा
२०८० आश्विन ४ गते , विहीबार
शिक्षकलाई नधम्क्याउन संघीय र स्थानीय सरकारलाई एमाले अध्यक्ष ओलीको चेतावनी

दमक । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकका मागलाई सरकारले उचित सम्बोधन गर्नुपर्ने बताएका छन् । 

बिहीबार राष्ट्रिय युवा संघ नेपाल दमक नगर कमिटीले झापाको दमकमा आयोजना गरेको समृद्ध नेपाल, सुखी नेपाली विषयक नगरस्तरीय अन्तरमावि तह वक्तृत्वकला प्रतियोगिता कार्यक्रममा बोल्दै ओलीले आन्दोलनरत शिक्षकलाई नधम्क्याउन संघीय र स्थानीय सरकारलाई चेतावनी दिएका छन् ।

विद्यालय बन्द गरेर आन्दोलनमा जाने शिक्षकलाई काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले कारबाही गर्ने चेतावनी दिएको प्रति पनि अध्यक्ष ओलीले आपत्ति जनाए । उनले भने, ‘शिक्षकहरू आन्दोलनमा छ, स्थानीय तहहरू धम्क्याइरहेका छन्, सरकार भन्ने बित्तिकै धम्क्याइ हाल्नुपर्छ ?’

कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले शिक्षकलाई नधम्क्याउन आग्रह गरे । उनले भने, ‘गुरुहरूलाई धम्क्याउने होइन, गुरुहरू यत्तिकै देशभरिबाट आएर त्यहाँ सडकमा आन्दोलन गरिरहेका होइनन्, आवाज उठाइ रहेका होइनन्, गुरुहरूका समस्या सुन्नुपर्छ, ती समस्यालाई सम्बोधन गर्नुपर्छ, ती समस्याहरू समाधान दिनुपर्छ, कति अहिले दिने, कति पछि दिने ? गुरुहरू नबुझ्ने मान्छे हुँदैनन्, पढेलेखेका मान्छे हुन्छन्, बुझ्छन्, बसेर छलफल गर्नुपर्छ, माग सम्बोधन गरिनु पर्छ ।’

सरकारले धम्कीको भाषा बोल्न नमिल्ने ओलीले बताए । एउटा मान्छेले गरेको कमजोरी रोक्न नसक्ने सरकारले देशभरिका गुरुहरूलाई जागिरबाट निकाल्ने धम्की दिनु गैरजिम्मेवार कुरा भएको ओलीले बताए । शिक्षण संस्था बन्द गराउन एक जना मानिस अनसन बस्दा उसका माग सम्बोधन गर्नुप¥यो भनेर कोकोहोलो गर्नेहरू अहिले देशभरिका शिक्षक आन्दोलनमा उत्रिँदा पनि मौन बसेका भन्दै उनले आलोचना गरे ।

शिक्षकका मागप्रति ध्यान दिएर यथोचित सम्बोधन गरी आन्दोलन धेरै लम्ब्याउन नदिन नहुने उनले बताए । शिक्षकको आन्दोलन लम्बिनु कसैको हितमा नभएको ओलीले टिप्पणी गरे । 

सम्बन्धित समाचार