जब स्थानीय तहका कर्मचारीको आन्दोलनमा लाठी बर्सियो...
स्थानीय तहका कर्मचारीको आन्दोलन चर्किंदै गएको छ। संसद्मा पेस हुन लागेको संघीय निजामती सेवा ऐनमा आफ्ना मागहरू सम्बोधन हुनुपर्ने माग गर्दै उनीहरू आन्दोलनमा उत्रिएका छन्।
त्यसैक्रममा सोमबार बानेश्वरमा आन्दोलनरत कर्मचारी र प्रहरीको झडप भएको छ। कर्मचारीले निषेधित क्षेत्र तोड्न खोज्दा झडप भएको थियो। झडपपछि प्रहरीले कर्मचारीलार्ई लखेटीलखेटी पिटेको उनीहरूको आरोप छ। झडपमा ३५ जनाभन्दा बढी कर्मचारी घाइते भएका छन्।
स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिका महासचिव विजय देवकोटाले प्रहरीहरूले कर्मचारीलार्ई बर्बरतापूर्वक दमन गरेको बताए। ‘लखेटेर बानेश्वरबाट माइतीघर पुर्यायो। इतिहासमा नै कर्मचारीलार्र्ई यसरी दमन गरेको पहिलोपटक हुनुपर्छ, सडक किनारामा बसेका कर्मचारी पिटिए, धेरै साथीहरू घाइते भएका छन्,’ उनले भने, ‘घाइतेहरू कतिपयको खुट्टा फ्याक्चर भएको छ, टाउको तथा छातीमा चोट लागेको छ।’
संघर्ष समिति कर्णाली संयोजक निश्चल विक्रम शाही, नेपालगन्ज उपमहानगरपालिकाका नवराज रोकाया, मादी गाउँपालिका कास्कीका भगवानप्रसाद पौडेल र सञ्जय लामिछाने, भोटेकोसी गाउँपालिकाका नवराज खत्री, मुगुका ईश्वरबहादुर सिंह घाइते भएका छन्। त्यस्तै, दिपकसिंह धामी, किशोर भण्डारी, विधान रेग्मी, छत्रबहादुर खड्का, रोशन श्रेष्ठ, बलबहादुर चौधरी, सन्तोष उपाध्याय, हरिश अवस्थी, भिमसेन घर्ती, रामप्रसाद अधिकारी पनि घाइते भएका छन्।
त्यसैगरी, रोशनकुमार थापा, गौरव लामिछाने, रञ्जीत विक, रामप्रसाद झा, ईश्वर भुजेल, अनिलबहादुर थापा, जितेन्द्र मण्डल, प्रदीप डिसी, शारदा रौनियार, कृष्णप्रसाद गोले, अमृता बुढाथोकीलगायत घाइते भएका छन्। कोसी प्रदेशका १५ जना घाइते भएका छन्।
विगत एक हप्तादेखि आन्दोलनमा उत्रिएका उनीहरूको मागप्रति सरकार गम्भीर नभएपछि कर्मचारी आक्रमक भएका हुन्। उनीहरूले असोज १४ गतेदेखि आन्दोलनको सुरुवात गरेका थिए। तीन दिन माइतीघरमा धर्ना बसेपछि १७ गतेबाट उनीहरूले प्रदर्शन थालेका थिए। आजको अन्नपूर्ण पोष्टमा खबर छ ।