२०८३ बैशाख २३ गते , बुधबार

विदेशी सुपारी नेपाली बजारमा, कोशीका सुपारी तस्करकै हातमा

sajilo news
पत्रपत्रिका
२०८० कार्तिक १२ गते , आईतबार
विदेशी सुपारी नेपाली बजारमा, कोशीका सुपारी तस्करकै हातमा

झापा ।  कोशी प्रदेशको मुख्यतः पाँच जिल्लामा बढी सुपारी खेती हुन्छ। झापा, मोरङ, सुनसरी, उदयपुर र इलाम जिल्लामा ४ हजार ५४ हेक्टरमा सुपारीको व्यावसायिक खेती भएको छ। यस क्षेत्रका खेत, बारी र खाली जमिन भएका स्थानीयले पनि केही बोट सुपारी लगाएकै हुन्छन्। व्यावसायिक उत्पादनमात्रै वार्षिक १५ हजार मेट्रिक टन बढी हुने सरकारी तथ्यांकले नै देखाउँछ। किसान पनि खेती गर्नमा उत्साहित नै छन्। तर, मुख्य समस्या बजारको छ। 

यतिको उत्पादन हुँदा पनि अझै यहाँका किसानले मूल्य पाउँदैनन्। तस्करकै हातमा र उनीहरूकै मूल्यमा आफ्नो उत्पादन बिक्री गर्न किसान बाध्य छन्। भन्छन्, ‘सरकारले खेती गर्न प्रोत्साहन गर्‍यो। तर, बजारका लागि बेवास्ता गर्‍यो।’ कोशी प्रदेशमा आर्थिक वर्ष २०७९–०८० मा १४ हजार ५ सय ६१ मेट्रिकटन सुपारी उत्पादन भएको थियो। तर, ‘कौडीको भरमा’ सुपारी बेच्नु परेको किसानको गुनासो छ। 

झापा अर्जुनधारा नगरपालिकामा विगत ३० वर्षदेखि सुपारी व्यवसाय गर्दै आएका सुरेन्द्र साह यो समस्या आउनुको मुख्य कारण सरकारको बेवास्ता ठान्छन्। भन्छन्, ‘बिलौचियामार्फत स्थानीयस्तरमा उत्पादित राम्रो सुपारी भारत जान्छ। भारतको नराम्रो र कुहिएको सुपारी उनीहरूमार्फत नै नेपाल आउँछ। सरकार आफ्नो उत्पादनलाई निर्यातमा भन्दा आयातमा बल गर्छ। यसको दुःख सुपारी किसानले पाएका छन्।’ सुपारी किसानको नाममा विभिन्न संस्था खोलेर बिचौलिया हाबी हुँदा किसान मर्कामा परेको उनको तर्क छ

केही दिनअघि मात्रै झापाको बुद्धशान्तिमा पत्रकार सम्मेलन गरेर किसानले उत्पादन गरेको सुपारी सोझै तेस्रो मुलुक निर्यात गर्न पाउनुपर्ने सरकारसँग माग गरे। ‘अब अति भयो’ भन्दै उनीहरूले सरकारले मागको बेवास्ता गरे आन्दोलन गर्ने चेतावनी पनि दिए। त्यहाँ नेपाल सुपारीखेती किसान पहल समितिले प्रस्तुत गरेको तथ्यांकमा १० लाख बढी किसान सुपारीखेतीमा लागेको र अहिले उत्पादन भइरहँदा पनि बिक्रीका लागि बिचौलिया र तस्करकै भर पर्नु परेको उल्लेख थियो। उपस्थित किसानको एउटै भनाइ थियो, ‘विदेशी सुपारीका कारण स्वदेशीले उचित मूल्य पाएन।’ 

नेपाल सुपारीखेती किसान पहल समितिका संयोजक गीताप्रसाद अधिकारी किसानले उत्पादन गरेको सुपारी सोझै तेस्रो मुलुक निर्यात गर्न पाए राम्रो आम्दानी हुने र किसान आत्मनिर्भर बन्न सक्ने बताउँछन्। नेपालमा सुपारीखेतीको विस्तारमा सरकारले चासो देखाए पनि निर्यातलाई सहज नबनाउँदा किसान समस्यामा परेको उनको भनाइ छ। भन्छन्, ‘काँचो सुपारी सोझै तेस्रो मुलुक निर्यात गर्न हामीले सहजै पाउनुपर्छ। हाम्रो मागलाई बेवास्ता गरेमा १० लाख बढी सुपारी किसान एकैपटक आन्दोलनमा उत्रिन्छौं।’

सुपारी किसानले कृषि विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल गर्दै आफ्ना माग पटकपटक राखेका पनि छन्। तर, यतिका समय हुँदा पनि मागका विषयमा सरकारले कुनै सम्बोधन नगरेको किसानको गुनासो छ। 

किसानलाई किन तस्कर जस्तो व्यवहार ?’

झापा अर्जुनधारा नगरपालिका—८ का कृषक दीपेन्द्र ढकालको सबै जमिन सुपारीले ढाकेको छ। सबै सुपारीले उत्पादन दिन थालेको ११ वर्ष भयो। उनको खेती सरकारले घोषणा गरेको सुपारी जोन क्षेत्रमा नै पर्छ। तर, उनी आफैंले बारीमा उत्पादन गरेको सुपारी निर्धक्क भएर बजारमा लगेर बिक्री गर्न सक्दैनन्।

दुई वर्ष अघिमात्र आफैंले उत्पादन गरेको सुपारी ट्रकमा हालेर बिर्तामोडको बजारमा बिक्री गर्न लैजादा बीच बाटोमा प्रहरीले चेक गर्‍यो। उनलाई प्रश्न तेस्यायो– ‘सुपारी तस्कर हो ? कहाँबाट ल्याएको ? कहाँ लैजान लागेको ?’ ‘आफैंले उत्पादन गरेको वा आफू सुपारी कृषक हो भन्ने के प्रमाण छ ?’ प्रहरीका यस्ता प्रश्नको सामना गर्नुपर्दा त्यो समय ढकाल अक्कन बक्क भए। आफैंले तरकारी खेती गरेजस्तै सुपारीखेती गरेर बजार लैजाँदा पनि तस्करको संज्ञा पाएका उनको मन अमिलो भयो।

अहिले पनि बारीभरि सुपारीको बोट भएका कृषक ढकाल बजार जान र आफैं बिक्री गर्न मन मार्नु परेको बताउँछन्। भन्छन, ‘सुपारीखेती गरियो, बिक्री पनि हुन्छ। तर, बजार लैजाँदा सुपारी बेच्नेलाई तस्करलाई गर्ने व्यवहार जस्तो गरिन्छ। विभिन्न हैरानी खेप्नुपर्छ।’ अहिले उनी सुपारी पाक्न साथ बोटमा नै खरिद गर्न आउने व्यापारीलाई सस्तो मूल्यमा नै सुपारी बिक्री गर्छन्। व्यापारी पनि नेपालका नभई भारतीय नै बढी आउने गरेको कृषक ढकालको भनाइ छ।

खेती सहज, बिक्री असहज

झापाको अर्जुनधारा, मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा सबैभन्दा बढी सुपारीखेती हुन्छ। यस क्षेत्रमा सुपारी नभएको घर कमै छन्। स्थानीय केहीले व्यावसायिक रूपमा सुपारीखेती गरेका छन्। केहीले एक/दुई दर्जन बोटलाई आयस्रोतको माध्यम पनि बनाएका छन्। 

झापा सबैभन्दा बढी सुपारी उत्पादन हुने जिल्ला भएकाले सरकारले दुई नगरपालिका र एक गाउँपालिकालाई समेटेर सुपारी जोन कार्यक्रमका लागि बजेट विनियोजन गरी काम अघि बढाएको पनि छ। तर, झापाका सुपारी कृषक र व्यवसायी भने जिल्लामा उत्पादन भएकै सुपारीले बजार नपाउँदा चिन्तित छन्। ‘केही भारतीय व्यापारी आउँछन्, उनीहरूले तोकेको मूल्यमा नदिए बिक्री हुँदैन। नेपाली व्यापारीले धेरै खरिद गर्दैनन्। उत्पादन गरे पनि बजार छैन,’ अर्जुनधारा नगरपालिकाका सुपारी कृषक शैलेश लिम्बूले भने। केही समय अघिसम्म सुपारीको बजार राम्रो थियो अहिले बिक्री गर्न नै कृषकलाई समस्या छ।                                                                         धार्मिक कार्यहरू न्वारान र विवाहदेखि मृत्यु संस्कारसम्म नभई नहुने सुपारीलाई औषधीय गुणयुक्त मानिने भएकाले कोशीका जिल्लामा धेरै वर्ष अघिदेखि सुपारीखेती भएको हो। कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका कृषिविज्ञ अभिमन्यु अधिकारीका अनुसार कोशी प्रदेशको कुल सुपारी उत्पादनमध्ये दुई तिहाइभन्दा बढी सुपारी झापामै उत्पादन हुन्छ। त्यही कारण झापालाई सुपारीको राजधानी तथा उर्वरभूमि पनि भन्ने गरिन्छ। 

झापामा २ हजार ७ सय ७० हेक्टरमा सुपारीखेती हुँदै आएको छ। झापामा आर्थिक वर्ष २०७९/८० मा १० हजार ३ सय ७० मेट्रिकटन सुपारी उत्पादन भएको छ। झापामा सुपारीखेतीको विस्तार पनि तीव्र रूपमा भइरहेको छ। जिल्लाका १५ वटै पालिकामा किसानले सुपारीको व्यावसायिक खेती गर्दै आएको सुपारीखेतीका अभियन्ता एवम् सुपारी जोनका पूर्वअध्यक्ष नीलकण्ठ तिवारी बताउँछन्। अहिले सुपारीको पातदेखि खोस्टासमेत बिक्री हुन थालेपछि यसप्रति किसानको आकर्षण बढेको छ। मात्रै दानाको भाउ नपाउँदा निराश छन्। 

झापापछि मोरङमा सबैभन्दा बढी सुपारीखेती र उत्पादन हुन्छ। मोरङको ९ सय ५ हेक्टरमा सुपारीको खेती हुन्छ। गत आवमा मोरङमा २ हजार ९ सय ४६ मेट्रिकटन सुपारी उत्पादन भएको थियो। यस्तै इलाममा गत आवमा २ सय ९ हेक्टरमा सुपारीखेती भएकोमा ६ सय १० मेट्रिकटन उत्पादन भएको थियो भने सुनसरीको १ सय ३५ हेक्टरमा खेती हुँदा ५ सय २५ मेट्रिकटन सुपारी उत्पादन भएको मन्त्रालयले जनाएको छ।

उदयपुरको ३५ हेक्टरमा सुपारीखेती भएको र गत आवमा १ सय ९ मेट्रिकटन सुपारी उत्पादन भएको थियो। सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापामा सुपारी जोन सञ्चालन गरेको छ। जोन घोषणा भएसँगै सुपारी किसानलाई खेती विस्तार, बिरुवा उत्पादन, कृषि औजार, भण्डारण, सुपारी प्रशोधनलगायतका लागि परियोजनाले ५० देखि ७५ प्रतिशतसम्म अनुदानमा विभिन्न औजार दिने गरेको छ।

तस्करकै हातमा सुपारी

सुपारी तस्करी नियन्त्रणलाई लक्षित गर्दै २०६८ पछि इलाका प्रहरी कार्यालय काँकडभिट्टाको नेतृत्व पहिलोपल्ट नायब उपरीक्षक (डीएसपी) लाई दिइएको थियो। तर, अझै प्रहरीले प्रभावकारी काम गर्न सकेको देखिँदैन। पूर्वको मेची, विराटनगर, वीरगन्ज र भैरहवा भन्सार नाकाबाट वार्षिक अर्बौं रुपैयाँको सुपारी तस्करी/पैठारी हुन्छ। 

पाँच वर्षअघिबाट सुपारी निर्यात गर्ने अनुमतिपत्र ‘उत्पत्तिको प्रमाणपत्र’ पाउने विषयलाई लिएर सुपारी संस्थाहरूको विवादका कारण भन्सारबाट वैधानिक रूपमा निकासी हुने सुपारी पूर्ण रूपमा रोकिएको हो। यसअघि झापामा उत्पादन भएको सुपारी भारतमा बिक्री गर्न नेपाल सुपारीखेती विकास संस्थाले अनुमतिपत्र ‘उत्पत्तिको प्रमाणपत्र’ दिए पछि मात्र निकासी हुने प्रावधान रहेको थियो।

उत्पत्तिको प्रमाणपत्र एकाधिकार ढंगले दिएको भन्दै संस्थाको विवाद सर्वोच्च अदालतसम्म पुगेपछि झापामा उत्पादित सुपारी भारत निकासी ठप्प भयो। उत्पत्तिको प्रमाणपत्र बिना भारत निकासी गर्दा व्यापारीले तेस्रो देशबाट ल्याएको सुपारीमात्रै भारत लैजाँदा नेपाली सुपारी कृषक समस्यामा परेका थिए। 

प्रमाणपत्रको व्यवस्थापछि केही समय नेपाली सुपारीले भारतीय बजार पाए पनि अहिले ठप्प हुँदा सबै सुपारी भारतीय तस्करको हातमा परेको छ। ‘व्यवसायीहरू तेस्रो देशबाट ल्याइएकै सुपारीको कारोबारमा नै व्यस्त छन्,’ ‘हाम्रो सुपारी नबिकेर बर्सेनि कुहिने अवस्था छ।’ अर्जुनधाराका कृषक राधेश्याम न्यौपाने भन्छन्। आजको अन्नपूर्ण पोष्टमा खबर छ । 

सम्बन्धित समाचार