मलेसियामा गैरकानुनी कामदारमाथि धडपकड तीव्र
काठमाडौं । तपाईं मलेसियामा गैरकानुनी हुनुहुन्छ ? यदि हुनुहुन्छ भने चाँडै स्वदेश फर्किने प्रक्रियामा जानुहोला, नत्र कुनै पनि समय पक्राउ पर्नुहुनेछ ।
मलेसियाले गैरकानुनी कामदारमाथि धडपकड तीव्र पारेसँगै चार नेपालीसहित १ सय ३६ कामदार पक्राउ परिसकेका छन् । मलेसियन अध्यागमन विभाग (जेआईएम)ले त्यहाँको जालान मुन्सी अब्दुल्लाहको एक लक्जरी कन्डोमिनियम आवासमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।
अध्यागमन विभागका महानिर्देशक दातो रुस्लिन बिन जुसोहको नेतृत्वमा त्यस क्षेत्रमा रहेका विदेशीले अध्यागमनमा गुनासो गरेपछि छापा मारेर उनीहरूलाई पक्राउ गरिएको बताइएको छ । छापा मारेर ३ हजार १६ विदेशीको परीक्षण गरी २० देखि ७० वर्ष उमेर समूहका १ सय ३६ विदेशीलाई विभिन्न कसुरमा पक्राउ गरिएको जनाएको छ ।
पक्राउ पर्नेमा नेपाली ४, इन्डोनेसियाका ४५, पाकिस्तानी ४१, भारतीय ३३ र थाईका १ जना रहेको अध्यागमनका महानिर्देशक बिन जुसोहले जानकारी दिए । पत्ता लगाएका सबैभन्दा बढी अपराधहरू ओभरस्टे, म्याद सकिएको राहदानी र कुनै वैध यात्रा कागजातहरू नभएका भेटिएको उनले बताए ।
अध्यागमन विभागका ३ सय ३८ अफिसरहरू र सदस्यहरूको बलमा पुत्रजया, क्वालालम्पुरको संघीय क्षेत्र, मेलाका र नेगेरी सेम्बिलनका सदस्यहरूको बलमा गरिएको अपरेसनले राष्ट्रिय दर्ता विभाग ९जेपीएन० र मलेसियन सिभिल डिफेन्स फोर्स ९एपीएम०को सहयोग उनीहरूलाई नियन्त्रणमा लिइएको थियो ।
पक्राउ परेका सबैलाई अध्यागमन ऐन १९५९(६३, राहदानी ऐन, १९६६ र अध्यागमन नियमावली १९६३ बमोजिम थप अनुसन्धानका लागि सेमेन्यिह अध्यागमन डिपो, सेलङ्गर पठाइएको अध्यागमनले जनाएको छ । गैरकानुनी रूपमा बसेका नेपाली कामदारले आवश्यक जरिमाना तिरेर अध्यागमन विभागबाट चेकआउट मेमो लिएर नेपाल फर्किन भने सक्नेछन् ।
पासपोर्ट नभएकाको हकमा यात्रा अनुमतिपत्र बनाउनका लागि त्यहाँ रहेको नेपाली दूतावासमा नागरिकताको प्रतिलिपि, पुरानो पासपोर्टको प्रतिलिपि, पासपोर्ट साइजको दुईप्रति रंगिन फोटो र १ सय ६० मलेसियन रिंगेट दस्तुर तिर्नुपर्छ ।
पछिल्लो समय मलेसियामा सयौं नेपाली पक्राउ परेको भन्दै गैरकानुनी भएर नबस्न र यदि बसेको भए आवश्यक पर्ने जरिमाना तिरेर नेपाल फर्कन दूतावासले अनुरोध गर्दै आएको छ । मलेसियामा करिब ५ लाखभन्दा बढी नेपाली विभिन्न क्षेत्रमा कार्यरत रहेको पाइन्छ । आजको राजधानी दैनिकमा खबर छ ।