भट्टराईसहितका नेताहरु पुनः राप्रपामै फर्किए
राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी नेपाली काँग्रेसमा आएर कारबाहीमा परेका कुमार भट्टराईसहितका नेताहरु राप्रपामै फर्किएका छन् ।
कारबाहीमा परेर पार्टीविहीन भएका उनीहरूलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पुरानै राजनीतिक थलोमा समेटेका हुन् । बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष भट्टराई राप्रपाको मेची अञ्चल संयोजक रहँदा उनी पार्टी परित्याग गरी नेपाली काँग्रेसमा गएका थिए । कांग्रेसले उनलाई पार्टीको प्रदेश सदस्यको जिम्मेवारी दिएको थियो ।तर, उनले टिकट नपाएपछि गत वर्षको मङ्सिर ४ को निर्वाचनमा बागी उम्मेदवारी दिएका थिए । झापा क्षेत्र नं २ को उम्मेदवार बनेर बागी निर्वाचन लडेपछि उनलाई पार्टीले निष्कासनको कारबाही गरेको थियो ।
त्यस्तै राप्रपाबाटै आएका नेपाली काँग्रेस बिर्तामोड ४ का उपसभापति लक्ष्मी गौतमलाई पनि पार्टीले कारबाही गरेको थियो । गौतम पनि राप्रपामै फर्किएका छन् । त्यस्तै राप्रपा छोडेर काँग्रेस हल्दिवारीको पूर्व वडा सभापति बनेका शिव कटुवाल पनि राप्रपामै फर्किएका छन् भने पार्टी कारबाहीमा परेका काँग्रेस बिर्तामोड ४ का पूर्व वडा सभापति राजकुमार प्रसाईँ पनि राप्रपामा प्रवेश गरेका छन् ।
पार्टी अध्यक्ष लिङ्देनको हल्दिवारीस्थित घरमा भएको कार्यक्रममा बिर्तामोड २ का टंक थपलिया, ,भुवन रिजाल ,अमृत कार्की ,चन्द्रप्रसाद खरेल, रमेश थापा मगर, पुष्कर भट्टराई,सूकरसिंह राजवंशी , खडक राजवंशी,केशव राजवंशी, कृष्ण ढकाल र नन्दबहादुर कटवाल पनि राप्रपामा प्रवेश गरेका छन्।उनीहरूलाई राप्रपा अध्यक्ष लिङ्देनले पार्टीको सदस्यता दिएका थिए।