२०८३ बैशाख २० गते , आईतबार

कोशीको समस्याको समाधान जनमत सङ्ग्रहबाट गर्न सुझाव

sajilo news
झापा
२०८० मंसीर २८ गते , विहीबार
कोशीको समस्याको समाधान जनमत सङ्ग्रहबाट गर्न सुझाव

बिर्तामोड। नेपाल कम्युनिस्ट पार्टी (विप्लव) का स्थायी कमिटी सदस्य अनिल विरही ‘सी’ ले कोशी प्रदेशमा पहिचानका नाममा भइरहेको आन्दोलनप्रति सरकार गम्भीर हुनु पर्ने बताएका छन् ।
बिहीबार (आज) बिर्तामोडमा आयोजित संवाद कार्यक्रममा बोल्दै विरहीले सरकारले दमन गरेर पहिचानको आवाज दबाउन नसक्ने बताए । पहिचानको पक्षमा उठेको आवाजलाई कमजोर नठान्न सुझाउँदै विरहीले समस्या समाधानका लागि जनमत सङ्ग्रह गर्नुपर्नेमा जोड दिए । ‘दमन गरेर हुन्न, जनमत सङ्ग्रहबाट फैसला गरौँ’ विरहीले भने ‘जनमतको सबैले कदर गर्नुको विकल्प छैन ।’


अर्को प्रसङ्गमा उनले सङ्घीयता मात्र समाधान नभएको भन्दै समाजवादी सङ्घीयताको आवश्यकता औँल्याए । मुलुकमा यही अवस्था रहे राजतन्त्र र हिन्दु राज्य फर्कने विरहीले दाबी गरे । अमेरिकासहितका शक्ति राष्ट्रको चलखेलले नेपालको सङ्घीयता संकटोन्मुख रहेको भन्दै उनले भने ‘यही अवस्था रहे राजतन्त्र फर्कँदैन भन्न सकिन्न ।’ विरहीले नेपाली विशेषताको वैज्ञानिक समाजवादको विकल्प नरहेको बताए ।


पार्टीका केन्द्रीय सदस्य तथा मेची इन्चार्ज सुमन सिंह पौड्यालले कोशी प्रदेशमा शान्ति खलबल्याउन विभिन्न प्रयत्न भइरहेको बताए । पौडेलले पहिचानको आन्दोलन दबाउने प्रयास, धर्मका नाममा उठेका विषय, राजतन्त्र पक्षधरको गतिविधि, एमसीसीको प्रभावले प्रदेशलाई अशान्त बनाउने प्रयास भएको बताए । उनले चीनलाई दबाबमा राख्ने रणनीतिमा अमेरिका, भारतलगायतका राष्ट्र अघि बढेको दाबी गरे ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य प्रशान्त, पाँचथर इन्चार्ज सन्तोष, विनोद, भरत, सौगात, डा. डिल्लीराज रिजाल लगायतका नेताको सहभागिता थियो । मुलुकको वर्तमान परिस्थिति र निकासको बाटो विषयमा भएको छलफलको संयोजन संवाद समूह झापाले गरेको थियो ।  

सम्बन्धित समाचार