२०८३ जेष्ठ १ गते , शुक्रबार

भारतमा ट्याक्टर ट्रली पल्टिँदा २२ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०८० फाल्गुन १३ गते , आईतबार
भारतमा ट्याक्टर ट्रली पल्टिँदा २२ जनाको मृत्यु

भारत । भारतको उत्तर प्रदेशमा शनिबार ट्र्याक्टर ट्रली पल्टिएर पोखरीमा खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । उक्त दुर्घटना उत्तर प्रदेशको राजधानी लखनउबाट २६६ किलोमिटर उत्तर पश्चिममा पर्ने कासगञ्ज जिल्लाको पटियाली क्षेत्रमा भएको हो ।

अहिलेसम्म दुर्घटनामा २२ जनाको मृत्यु भइसकेको छ र घाइते भएका १० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ, कासगञ्जका प्रमुख मेडिकल अफिसर राजीव अग्रवालले सञ्चारमाध्यमलाई बताए ।  प्रहरीका अनुसार पीडितहरू गङ्गा स्नान गर्न कादरगञ्ज जाँदै थिए। पीडितहरूमध्ये अधिकांश महिला र बालबालिका रहेको बताइएको छ । उद्धारकर्ताहरूले घटनास्थलबाट शव निकालेर शव गृहमा राखेको र पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृतकप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । उनले पीडित परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा समेत गरेका छन् ।  ट्र्याक्टर चालकले अर्को गाडीलाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।भारतमा घातक सडक दुर्घटनाहरू प्रायः ओभरलोडिङ, सडकको खराब अवस्था र लापरवाह ड्राइभिङका कारण हुने गरेको पाइएको छ । सडक दुर्घटनामा प्रत्येक वर्ष लगभग १ लाख ५० हजार मानिसहरूको मृत्यु हुने गरेको छ ।

 

सम्बन्धित समाचार