२०८३ बैशाख ३ गते , विहीबार

प्रतिबन्धित ‘कटन क्यान्डी’ झापामा खुलेआम बिक्री, प्रहरी-प्रशासन बेखबर

sajilo news
दीपक अधिकारी
२०८० फाल्गुन १५ गते , मंगलबार
प्रतिबन्धित ‘कटन क्यान्डी’ झापामा खुलेआम बिक्री, प्रहरी-प्रशासन बेखबर

भद्रपुर । सरकारले ‘कटन क्यान्डी’ खरिद–बिक्री तथा सेवन गर्न प्रतिबन्ध गरेको एक महिना नबित्दै झापामा खुलेआम बिक्री–वितरण तथा सेवन भइरहेको छ । सरकारले जारी गरेको सूचनालाई झापाका नियमन गर्ने निकायहरूले बेवास्ता गर्दा झापामा अखाद्य बस्तु ‘कटन क्यान्डी’ खुलेआम बिक्री–वितरण तथा सेवन भइरहेको हो । 

नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले माघ ९ गते सूचना जारी गर्दै देशैभर ‘कटन क्यान्डी’ नखान र खरिद–बिक्री नगर्न नगराउन एवम् खरिद बिक्री गरे कारबाही गर्ने चेतावनी समेत दिएको थियो । 

तर, झापामा त्यो सूचनाले अहिलेसम्म कुनै प्रभाव परेको छैन । अझै पनि सडक–पेटी, स्थानीय बजार, मेला–महोत्सव, धार्मिक उत्सवलगायत खुलेआम ‘कटन क्यान्डी’ बिक्री वितरण भइरहेको छ । झापामा खुलेआम ‘कटन क्यान्डी’ बिक्री वितरण भइरहेपनि प्रहरी–प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापा एवम् स्थानीय सरकारले अहिलेसम्म कुनै चासो चिन्ता देखाएका छैनन् ।

वर्षको एकपल्ट भव्य रुपमा लाग्ने किच्चकबध धार्मिक मेलामा पनि यस वर्ष खुलेआम ‘कटन क्यान्डी’ बिक्री वितरण भयो । सरकारले प्रतिबन्ध लगाएको ‘कटन क्यान्डी’ किच्चकबध मेलामा खुलेआम बिक्री भएको विषयमा  जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी÷प्रवक्ता प्रहरी निरीक्षक ढुण्डिराज गिरीसँग जिज्ञासा राख्दा उनले यस विषयमा एसपी (प्रहरी उपरीक्षक) सावलाई जानकारी गराउन भने ।

झापा जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मिलन केसीसँग किच्चकबध मेलामा प्रतिबन्धित ‘कटन क्यान्टी’ बिक्री–वितरणको जानकारी गराउँदा एसपी केसीले ‘कटन क्यान्डी’ प्रतिबन्ध भएको विषयमै अनभिज्ञता प्रकट गरे । उनले भने–‘त्यो प्रतिबन्ध लगाको भन्ने कहाँ के छ र ? यदि प्रतिबन्ध हो भने त्यसलाई हटाउनुपर्छ । तर, यो खाद्य तथा गुणस्तरको विषयमा सायद प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हो । यदि हामीलाई पनि पत्राचार भएको भए हामी पनि हेरौला, ठिक छ ।’ 

झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई सरकारले प्रतिबन्ध गरेको ‘कटन क्यान्डी’ किच्चकबध मेलामा खुलेआम बिक्री–वितरण भइरहेको विषयमा जिज्ञासा राख्दा प्रजिअ बास्तोलाले भने–‘खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका प्रमुखलाई आफूले बुझ्दा रङ्ग प्रयोग गर्न नदिने खालको परिपत्र छ, ठ्याक्कै कारबाही नै गर्ने खालको छैन जस्तो बताएकोले खाद्यको हाकिमलाई बोलाएर परिपत्र, निर्णय के छ हेरेर, त्यो अनुसार मिल्ने रहेछ भने जिल्लाका सबै ठाउँमा जफत गर्ने लगायतका कारबाही अगाडी बढाइने छ ।’

बालबालिकाले बढी रुचाउने ‘कटन क्यान्डी’–मा अखाद्य रङ्ग ‘रोडामाइन बी’–को प्रयोग भएको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘कटन क्यान्डी’ नखान आग्रह गरेको थियो ।  विभागले प्रयोगशाला जाँच विश्लेषणबाट ‘कटन क्यान्डी’–मा अखाद्य रङ्ग ‘रोडामाइन बी’–को प्रयोग भएकोले विभागबाट अनुज्ञा पत्र प्राप्त गरी लेबल लगाइएका बाहेक खुल्ला रुपमा बिक्री–वितरण गरिएका ‘कटन क्यान्डी’ उपभोग नगर्न नगराउन विभाग अनुरोध गर्दछ, विभागको सूचनामा उल्लेख छ ।

साथै, विभागले जारी गरेको सूचनाको अटेर गर्दै ‘कटन क्यान्डी’–मा अखाद्य रंगको प्रयोग गरेर उत्पादन तथा विक्री–वितरण गरेको पाइए कारबाही गर्ने विभागले चेतावनी समेत दिएको छ । 

तर,विभागको सूचना जारी भएसँगै काठमाडौँ महानगरपालिकाले  अखाद्य वस्तु ‘कटन क्यान्डी’ बेच्नेलाई कारबाही गर्ने  निर्णय गरेको छ ।काठमाडौँ महानगरले माघ १२ गते एक सूचना जारी गर्दै गुणस्तर नभएका खानेकुरा ‘कटन क्यान्डी’लगायत बेचबिखन गरेको पाइए ५ हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना गर्ने जनाएको छ । महानगरपालिकाले  बालबालिकालाई लक्ष्य गरी खुला बेचिने ‘कटन क्यान्डी’–को नमुना संकलन गरेर २९ पुसमा राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा परीक्षणका लागि पठाएको थियो । यसरी पठाइएको नमुनामा ‘रोडामिन बी’ नामक अखाद्य रङ मिसाइएको प्रतिवेदन प्राप्त भएपछि महानगरले अनुगमन गरेर कारबाहीको  अगाडी बढाएको छ ।

त्यसैगरी छिमेकी देश इन्डियाका केही राज्यले ‘कटन क्यान्डी’ बिक्री–वितरणमा प्रतिबन्ध लगाएका छन् । इन्डियाको दक्षिणी राज्य तमिलनाडुले परीक्षण गर्दा क्यान्सर उत्पन्न गर्ने पदार्थ ‘रोडामिन–बी’ भेटिएपछि गत हप्ता ‘कटन क्यान्डी’ बिक्री–वितरणमा प्रतिबन्ध लगाएको हो । मा पनि क्यान्सरको जोखिम देखिएपछि ‘कटन क्यान्डी’ बिक्री–वितरणमा प्रतिबन्ध लगाइएको छ  ।

फेब्रुअरी महिनाको सुरुतिर केन्द्र शासित पुडुचेरीले पनि ‘कटन क्यान्डी’ –माथि प्रतिबन्ध लगाएको थियो । अन्य राज्यहरूले पनि यसको नमुना परीक्षण गर्न थालेका छन् । भारतलगायत विश्वका विभिन्न देशमा ‘कटन क्यान्डी’ खानेकुरा बालबालिकामाझ परिचित छ । तमिलनाडुको चेन्नई सहरका खाद्य सुरक्षा अधिकारीले ‘कटन क्यान्डी’ मा हुने प्रदूषकले क्यान्सर निम्त्याउन सक्ने र शरीरका सबै अंगलाई असर गर्नसक्ने बताएका छन् ।

‘रोडामिन–बी’ रसायनले क्यान्सरको जोखिम बढाउन सक्ने अध्ययनले देखाएको छ । युरोप र क्यालिफोर्नियामा खाने रङ वा फुड डाइको रूपमा यसको प्रयोग अवैध छ ।

 

सम्बन्धित समाचार