२०८३ बैशाख १२ गते , शनिबार

बिर्तामोड नगर अस्पतालमा एक बर्षमा ७६ हजार ५६९ बिरामीले सेवा

sajilo news
झापा
२०८० फाल्गुन २१ गते , सोमबार
बिर्तामोड नगर अस्पतालमा एक बर्षमा ७६ हजार ५६९ बिरामीले सेवा

बिर्तामोड ।  बिर्तामोड नगर अस्पतालमा एक वर्षमा ३९ वटा डेलिभरी सफल बिर्तामोड । बिर्तामोड नगर अस्पतालले एक वर्षमा ७६ हजार ५ सय ६९ जना बिरामीलाई उपचार सेवा प्रदान गरेको छ । सेवा विस्तारलाई तीव्रता दिइरहेको नगर अस्पतालको प्रथम वार्षिकोत्सवमा अस्पतालका मेसु डा. सुनिल अधिकारीले दैनिक सेवाग्राहीको सङ्ख्या वृद्धि भइरहेको जानकारी दिए । 

 प्रथम वार्षिकोत्सवको अवसरमा आइतबार आयोजित संक्षिप्त कार्यक्रममा मेसु अधिकारीले नगर अस्पताल नागरिकको सेवामा प्रतिबद्ध भई काम गरिरहेको बताए । उनले अस्पतालमा सेवा विस्तारसँगै बिरामीको चाप बढिरहेको जानकारी दिए ।

 बिरामीहरूले अस्पतालमा उपलब्ध सेवाबाट प्रभावकारी रुपमा लाभान्वित भएको बताए । उनले एक वर्षको अवधिमा दिइएको सेवाको विवरण समेत सार्वजनिक गरेका छन् । नगर अस्पतालले स्त्री तथा प्रसूति रोग, बालरोग विशेषज्ञ सेवा र मनोरोगको समेत सेवा उपलब्ध गराइरहेको अधिकारीले जानकारी दिए । २४ घण्टा बर्थिक सेन्टर सञ्चालन गरेको नगर अस्पतालमा ३९ जनाको डेलिभरी सफल भएको डा. अधिकारीको भनाई छ । उनका अनुसार आमा बच्चा दुवैको स्वास्थ्य स्वास्थ्य रहेको छ । बालरोग विशेषज्ञको सेवा सुरु भएपछि ७ हजार ५ सय २१ जना १४ वर्षमुनिका 

बालबालिकालाई उपचार सेवा प्रदान गरिएको छ । नियमित खोप सञ्चालन हुने अस्पतालमा अहिले दादुरा रुवेला विरुद्धको खोप समेत सञ्चालन भइरहेको छ । नगर अस्पतालमा चैत २ गते छुटेका बालबालिकाहरूलाई दादुरा रुवेला विरुद्धको दिइने डा. अधिकारीले जानकारी दिएका छन् । अस्पतालमा टिभी तथा लेभ्रोसीको पत्ता लगाउने र उपचार काम भइरहेको छ । 

 आधारभूतदेखि शल्यक्रियासम्मका सेवा दिँदै आएको नगर अस्पतालमा सेवा प्रवाहमा कुनै कन्जुस्याइँ नगरेको उनको दाबी छ । कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईँले अस्पतालको सेवा विस्तारलाई प्राथमिकता दिएको बताइन् । उनले अस्पताललाई नगरवासीको स्वास्थ्योपचारमा भरपर्दो संस्थाको रुपमा स्थापित गर्ने बताएकी हुन् । विगतमा सिटामोल र आइरन चक्की मात्रै वितरण हुने अस्पतालको सेवा विस्तार धेरै अघि बढिसकेको उनको भनाई थियो । 

आगामी दिनमा नागरिकले खोजेका सबै प्रकारका स्वास्थ्य सेवा नगर अस्पतालमै उपलब्ध गराउन स्थानीय सरकार प्रतिबद्ध भएको बताइन् । विभिन्न चुनौतीका बाबजुद पनि नगर अस्पतालको सेवा प्रवाह सन्तोषजनक रहेको उनको भनाई छ । पैसा अभावले उपचार गर्न नसक्ने विपन्न परिवारहरूलाई उपचारमा कुनै पनि असुविधा नहुने धारणा राखेकी छन् । उनले अस्पतालको सेवा प्रवाहमा आवश्यक सुझाव समेत दिन आग्रह गरेकी छन् । नगर अस्पतालमा कार्यरत डाक्टर, सबै स्वास्थ्यकर्मीहरूलाई धन्यवाद दिदैं नगर प्रमुख प्रसाईँले आगामी दिनमा समेत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सुझाव दिएकी छन् ।

 

 प्रथम वार्षिकोत्सवमा नगर उपप्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौला, अस्पताल सञ्चालक समिति सदस्य लक्ष्मी आचार्य लगायतले उपचार सेवालाई थप प्रभावकारी बनाइने बताए । उनीहरूले आगामी दिनमा सेवा विस्तारलाई ध्यान दिने बताएका छन् ।

सम्बन्धित समाचार