४७ वर्षदेखि आफन्त खोज्दै भीमबहादुर, अझै बनेन नागरिकता
झापा । सडकले कैयौँ मानिसलाई जोड्छ तर यही सडकमा आफन्त छुटेकाको जीवन भने क्षितिज पारि डुब्न लागेको घाम जस्तो बन्ने कुरा भीमबहादुर थापाको पीडाले पुष्टि गर्छ । बाल्यकालमै सडकमा छुटेका मजदुरका छोरा थापाले ४७ वर्षसम्म आफन्त भेटाउन सकेको छैन । बाल्यकालका धमिला सपना बोकेर उनी अहिले आफन्त सम्झेर रोइरहेका छन् । २०३३ सालमा सडक खन्न दाङबाट मजदुरका रूपमा बैतडी आएका आफन्तसँग सडकमै विछोड भएको थापाले बताए । “बाल्यकालमै सडकमा छुटेँ,” उनले भने, “४७ वर्षदेखि आफन्तको सम्झनामा दिन बिताउँदै बसेको छु ।”
दशरथचन्द नगरपालिका–४, कठपतेमा स्थानीयको एक घरमा आश्रय लिएका उनीलाई खोजी गर्न कोही नआएको पीडा सुनाए । दाउरा बेच्न बैतडी सदरमुकाम पुगेका भीमबहादुरले आफ्नो घरको ठेगाना र आफन्तको नाम थाहा नभएको बताए । उनले आफन्तले छाडेर गएको सडक किनारकै एक स्थानीयको घरमा काम गरेर जीवन बिताइरहेको पीडा सुनाए। उमेरले वृद्ध देखिएका भीमबहादुर अविवाहित छन् । दाउरा बेच्न सदरमुकाम आउँदै गरेको अवस्थामा भेटेका भीमबहादुर जाडोले कामिरहेका थिए ।
“आमाको अनुहार सम्झना छैन । सायद म सानै छँदा बित्नुभयो कि ? बुवासहितका नातेदारसँग बैतडी पुगेको याद छ । सडक खन्ने काम सकेर आफन्त फर्केको भन्छन् । मलाई किन यतै छाडेर जानुभयो ? केही थाहा छैन । खोजी गर्न कसैले सहयोग गरेनन् । मजदुरको आफ्नो भन्ने कोही नहुने रहेछ,” आँखाका डिलबाट चाउरी परेका गालामा आँसु खसाल्दै उनले भने। उनले आमाबाबुका बारेमा बेखबर भएकाले हालसम्म नागरिकता पनि बन्न नसकेको गुनासो गरे । “आफ्नै देशमा अनागरिक भएको छु । दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउँदै छु,” उनले भने ।
भीमबहादुरका बारेमा स्थानीय अमृत ठगुन्नाले होटलमा खाएको उधारो तिर्न नसक्दा भीमबहादुरका आफन्तले पैसा लिएर आउँछु भनी छाडेर गएको बताए । उनले भने, “२०३२/३३ सालको कुरा हो । कठपतेबाट बैतडी सदरमुकामको सडक खन्ने काम भइरहेको थियो । ठेकेदारले दाङबाट कामदार ल्याएका थिए । उनीहरू सडकमै बसेर काम गर्थे । ती मजदुर सडकको काम सकेर फर्केपछि भीमबहादुरलाई छाडेर गएका हामीले थाहा पायौँ । त्यसपछि भीमबहादुरलाई स्थानीय पाण्डेयले आश्रय दिएका हुन् ।” आजको गोरखापत्र दैनिकमा खबर छ ।