२०८३ बैशाख ५ गते , शनिबार

झापाका शिक्षकहरूलाई संस्कारयुक्त शिक्षा प्रशिक्षण 

sajilo news
झापा
२०८० फाल्गुन २६ गते , शनिबार
झापाका शिक्षकहरूलाई संस्कारयुक्त शिक्षा प्रशिक्षण 

भद्रपुर । विद्यालय तहका विद्यार्थीलाई संस्कारयुक्त शिक्षा दिने उद्देश्यले झापामै पहिलो पटक यहाँका ३ सय ४५ जना शिक्षकलाई प्रशिक्षण दिइएको छ । ‘संस्कार सहितको शिक्षा : आजको आवश्यकता’ भन्ने नाराका साथ ‘संस्कार सहितको शिक्षा प्रवर्द्धन समिति–भद्रपुर’को आयोजनामा कृष्णराज कम्प्लेक्सको हलमा भद्रपुर सहित बिर्तामोड, अर्जुनधारा, कनकाई र मेचीनगर गरी ५ पालिकाका शिक्षकहरूलाई प्रशिक्षण दिइएको हो ।

सुपरिचित उत्प्रेरक वक्ता (मोटिभेटर) डा.रवीन कटुवालले– सदाचार, संस्कार, विद्यार्थीमैत्री अध्यापन सीप, अनुकरणीय पाठ्यकलाका बारेमा सहभागी शिक्षकहरूलाई साढे ३ घण्टासम्म प्रशिक्षण दिएका थिए । सो अवधिमा प्रशिक्षार्थीहरू बडो तन्मय र उत्सुकताका साथ प्रशिक्षणमा सहभागी रहेका थिए । प्रशिक्षणपछि प्रतिक्रिया दिँदै शिक्षकहरूले आफूले अध्यापन गराउने विद्यालयका विद्यार्थीलाई पाठ्यक्रमसँगै संस्कारयुक्त शिक्षाको महत्त्व र आवश्यकताका बारेमा जानकारी दिएर उत्प्रेरणा जगाउन प्रशिक्षण निकै लाभदायी भएको बताए । यो उपयोगी प्रशिक्षणले पुरातन शिक्षण शैलीमा परिमार्जन गर्दै विद्यार्थीलाई आधुनिक पद्धतिबाट पठनपाठन गर्न आवश्यक रहेको बोध समेत गराएको लाभग्राही शिक्षकहरूको भनाइ थियो ।

भद्रपुर नगरपालिका क्षेत्रका ८ विद्यालय (प्रज्ञा एकाडेमी, विभूति विद्या मन्दिर, इस्ट पोइन्ट इङ्ग्लिस स्कुल, नेशनल मेरिगोल्ड इङ्ग्लिस स्कुल, ग्रीनफिल्ड इङ्ग्लिस स्कुल, होलिल्याण्ड इङ्ग्लिस स्कुल, आदर्श नमुना इङ्ग्लिस स्कुल र जनक निकेतन इङ्ग्लिस स्कुल)का २ सय ५० जना, सामुदायिक विद्यालयका १४ जना शिक्षक र अन्य ४ पालिकाका समेत गरी ३ सय ४५ जना शिक्षक प्रशिक्षणमा सहभागी भएको आयोजक समितिका इशुभ पाण्डेले बताए । प्रशिक्षणको अवलोकन पनि गरेका प्रमुख अतिथि भद्रपुरका नगर–प्रमुख गणेश पोखरेलले समापन कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षकहरूलाई अध्यापन कुशल बनाउन यस्तो नयाँ पद्धतिको शिक्षणविधियुुक्त प्रशिक्षणबाट आफू प्रभावित भएको बताएका थिए ।

उनले आगामी दिनमा विद्यालयमा पठनपाठन क्षमता बढाउन र शिक्षकसँगै विद्यार्थीहरूलाई संस्कारी समेत बनाउन यस्ता प्रशिक्षणका निम्ति सहकार्य गर्न तयार रहेको भनाइ समेत राखेका थिए । संयोजक राजेन्द्र घिमिरे (इस्ट पोइन्ट इङ्ग्लिस स्कुलका सञ्चालक) सभाध्यक्ष रहेको सो कार्यक्रममा प्याब्सन–झापाका जिल्ला अध्यक्ष गौरीमान फागो, सचिव हरिकृष्ण पाठक, नगर शिक्षा शाखाका प्रमुख राजकुमार ओडारी लगायतले मन्तव्यका क्रममा शिक्षकलाई प्रदान गरिने र शिक्षक मार्फत विद्यार्थीहरूमा सकारात्मक सोच, आचार–व्यवहार प्रवर्द्धन एवम् संस्कारको विकास गर्न मद्दत पुग्ने यस्तो प्रशिक्षण सबै विद्यालयमा गराइनु पर्ने आवश्यकताबोध भएको धारणा आएको आयोजक समितिका सदस्य सन्देश राईले जानकारी दिए ।

सम्बन्धित समाचार