२०८३ बैशाख ९ गते , बुधबार

ब्याज घट्यो, पैसा झनै थुप्रियो

sajilo news
पत्रपत्रिका
२०८० चैत्र २ गते , शुक्रबार
ब्याज घट्यो, पैसा झनै थुप्रियो

काठमाडौं ।  बैंकिङ प्रणालीमा निक्षेप थुप्रिँदा पछिल्ला प्रत्येक महिना ब्याजदर घट्दै गएको छ। हुन पनि प्रणालीमा पैसा अधिक हुँदा नेपाल राष्ट्र बैंकले प्रायः प्रणालीबाट विभिन्न उपकरणबाट अर्बौं रुपैयाँ तानेर सन्तुलन कायम गर्नु परेको छ। बजारमा एकातर्फ पैसा जम्मा गर्ने अधिक र अर्कोतर्फ कर्जाको माग नहुँदा यस्तो स्थिति आएको हो। 

हालसम्म समग्र बैंक तथा वित्तीय संस्थाबाट ६१ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन हुँदा कर्जा भने ५० खर्ब ८८ अर्ब रुपैयाँ मात्र प्रवाह भएको छ। यसो हुँदा बैंकहरूको सीडी रेसियो औसत ७९.९९ प्रतिशत छ। जबकि बैंकहरूलाई कर्जा निक्षेपको अनुपात (सीडी रेसियो) ९० प्रतिशत अधिकतम तोकिएको छ। यो भनेको बैंकहरूले १०० रुपैयाँ लिँदा ९० रुपैयाँसम्म लगानी गर्न पाउँछन्। तर बैंकसँग यतिबेला तर कुसन १०.०१ प्रतिशत अर्थात् करिब ४ खर्ब ८८ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्ने पैसा प्रणालीमा देखिन्छ। बैंकिङ प्रणालीमा निक्षेप थुप्रिँदा र कर्जाको माग नहुँदा लगानीयोग्य पुँजी (तरलता) पर्याप्त छ। यसो हुँदा बैंकहरूले निक्षेपको ब्याजदर पछिल्ला महिना घटाउँदै आएका छन्। 

परिणामस्वरूप गत असोजमा दोहोरो अंकमा भएको निक्षेपको ब्याजदर एकल अंकमा झरेको हो। सञ्चालनमा रहेका वाणिज्य बैंकहरूकै व्यक्तिगत मुद्दती निक्षेप औसत ७.७७ प्रतिशतमा सीमित भएको छ। जबकि ६ महिनाअघि गत असोजमा मात्रै औसत मुद्दती निक्षेपको ब्याजदर १०.२३ प्रतिशत थियो। यसपछिका महिनामा क्रमशः घट्दै कात्तिकमा औसत ९.९६ प्रतिशत, मंसिरमा ८.९९,  पुसमा ८.१६ र माघमा ७.७७ प्रतिशतमा झरेको छ। अब सोही दरले निक्षेप दर घटिरहँदा संस्थागत निक्षेपलाई कम ब्याज हुने गरेको थियो। हाल व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८ प्रतिशत ब्याज दिएका बैंकले संस्थागत मुद्दतीमा ६ प्रतिशत दिएका छन्। 

तर अब भने संस्थागत निक्षेपकर्तालाई खुसीको खबर छ। यसअघि संस्थागत निक्षेपको ब्याजदर व्यक्तिगत निक्षेपकर्ताको भन्दा दुई प्रतिशत बिन्दु कम हुनुपथ्र्यो। अब यो चैत्रदेखि भने संस्थागत निक्षेपको ब्याजदर एक प्रतिशत बिन्दुमात्रै कम भएको छ। यसबारे नेपाल राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा कार्यान्वयनका लागि बिहीबार निर्देशन पनि दिइसकेको छ। सो निर्देशनअनुसार बैंकहरूले चैतदेखि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजअन्तर एक प्रतिशत मात्रै कायम गर्नु परेको हो।

कुन खातामा कति थुप्रियो निक्षेप ?

समग्र बैंक तथा वित्तीय संस्थाको ठूलो हिस्सा ओगट्ने वाणिज्य बैंकमा निक्षेप संकलन राम्रै गतिमा छ। एक वर्षकै अन्तरमा निक्षेप वृद्धि १४.८४ प्रतिशतले बढेको छ। अर्थात् नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको ७ महिनाको तथ्यांकअनुसार वार्षिक ६ खर्ब ८७ अर्ब ७४ करोड ६३ लाख रुपैयाँ निक्षेप जम्मा भएको छ। २०७९ माघसम्ममा ४६ खर्ब ३२ अर्ब ७५ करोड ६३ लाख रुपैयाँ रकम बचत खातामा थियो। २०८० माघमा बढेर ५३ खर्ब २० अर्ब ५० करोड २७ लाख रुपैयाँ पुगेको छ। अझ फागुन अन्त्यमा बढेर वाणिज्य बैंकको मात्रै निक्षेप ५४ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ। 

बैंकमा व्यक्तिगत र संस्थागत बचत खाता खोलेर रकम जम्मा तथा कारोबार गर्न सकिन्छ। दुवै खालको गरेर वाणिज्य बैंकको साधारण बचत खातामा मात्रै माघसमममा १४ खर्ब ९३ अर्ब ४४ करोड १५ लाख रुपैयाँ निक्षेप संकलन भएको छ। यो गत वर्षको सोही अवधिको भन्दा २१.७१ प्रतिशत (२ खर्ब ६६ अर्ब ३९ करोड) रुपैयाँले बढी हो। कुल निक्षेपमा मुद्दती निक्षेपको अनुपात ५८.०७ प्रतिशत छ भने बचतको २७.६९, करेन्ट खाताको ७ प्रतिशत र कल निक्षेपको ६.४६ प्रतिशत छ। 

मुद्दती निक्षेप खातामा भने एकमहिने वा ३ महिनासमम खासै आकर्षण देखिँदैन। तर ३ महिनादेखि ६ महिने, एकवर्षे र सबैभन्दा बढी दुईवर्षे वा सो भन्दामाथि मुद्दती राख्ने ग्राहकहरू अधिक छन्। निश्चित समयसीमामा आकर्षक ब्याजदर हुने भएकाले बढी अवधिको बचतमा सर्वसाधारणको आकर्षण देखिन्छ। यसैले मुद्दतीमध्ये दुई वर्ष र यसभन्दा बढी अवधिमा कुल मुद्दतीको ३४.०९ प्रतिशत हिस्सा ओगटेको छ। अर्थात् कुल मुद्दती निक्षेप ४ खर्ब १ अर्ब ४७ करोड ४१ लाख रुपैयाँमध्ये १ खर्ब ३६ अर्ब ८४ करोड हाराहारीको रकम २ वर्ष र यसभन्दामाथि अवधिका छन्।

यसैगरी, छोटा अवधिको कल खातामा ३ खर्ब २२ अर्ब ४७ करोड ३४ लाख रुपैयाँबराबरको निक्षेप संकलन भएको छ। यो गत आवको भन्दा २४.२१ प्रतिशत अर्थात् ६२ अर्ब ८५ करोड ८८ लाख रुपैयाँ बढी हो।

समग्रमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ११४.३४ प्रतिशत छ। जसमा वाणिज्य बैंकसँगको अनुपात १०१.१५ प्रतिशत, विकासको १०.९५ प्रतिशत र वित्त कम्पनीको २.२४ प्रतिशत छ। आजको अन्नपूर्ण पोष्टमा खबर छ । 

सम्बन्धित समाचार