२०८३ बैशाख १२ गते , शनिबार

मेची भन्सारबाट जाँचपास भएर निस्किएका ट्रकमा प्रज्ञापनपत्र भन्दा बढी सामान, राजश्व बुझाइयो

sajilo news
पार्थ मण्डल
२०८० चैत्र २७ गते , मंगलबार
मेची भन्सारबाट जाँचपास भएर निस्किएका ट्रकमा प्रज्ञापनपत्र भन्दा बढी सामान, राजश्व बुझाइयो

झापा । काँकडभिट्टास्थित मेची भन्सार कार्यालयबाट जाँचपास भएर निस्किएका दुई वटा भारतीय नम्बर प्लेट भएको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिएको ट्रक आवश्यक कारबाहीका लागि मंगलबार दिउँसो राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइसकेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय धुलाबारीको संयुक्त टोलीले विशेष सूचनाको आधारमा सोमबार राती धुलाबारी चोकबाट एचआर ६९ सी ४६५९ र पीबी २३ टी ३४६५ नम्बरको दुई वटा ट्रक नियन्त्रणमा लिएको थियो । ट्रकमा भारतीय सेनाबाट अवकाश भएका १० जना नेपालीहरूको सरसामान रहेका छन् । उनीहरूले प्रयोग गरिएका पुराना इलेकट्रोनिक्स सामानहरू लिएर घर फर्किँदै थिए । उनीहरू सबैको घर पश्चिम हो । यात्रु शाखाबाट पुराना सरसामानको जाँचपास गराए बापत १० जनाको नाममा छुटाछुटै प्रज्ञापन पत्र बनाएर ६० हजार राजश्व भन्सार बुझाएको प्रज्ञापन पत्रहरू फेला पारेको छ ।
तर, ट्रकभित्र पुराना इलेकट्रोनिक्स सामानसहित केही नयाँ इलेकट्रोनिक्स सामानहरू रहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीको टोलीले दुवै ट्रक अनुसन्धानका लागि राजश्व पठाइसकेको एसपी केसीले बताए ।
राजश्वका कर्मचारीले ट्रकभित्र रहेका सरसामानहरू खोलेर छानबिन गरेपछि मात्र कति सामान बढी ल्याएको भनेर खुल्ने उनको भनाई छ । दुवै ट्रकमा रहेको सामान भन्सार कर्मचारीले सोमबार साँझ ७ बजेर ३५ मिनेट राजश्व तिराएको प्रज्ञापन पत्रमा उल्लेख छ । १० जनाको प्रज्ञापन पत्र भए पनि तीन जना मात्र भन्सारमा उपस्थिति थिए । त्यसमध्ये एक जनाले तीन तिहाइ सामानमध्ये एक तिहाइ सामान नयाँ रहेको प्रहरी समक्ष बयान दिएका छन् । भन्सार जाँचकीमा खटिएका कर्मचारीले आर्थिक चलखेल गरी नयाँ सामानलाई पुरानो भनेर प्रज्ञापन पत्र कटाएर पठाएको स्रोतको दाबी छ । 

सम्बन्धित समाचार