दमकमा आगलागीबाट २ करोड ४८ लाख रुपैयाँ क्षति
झापाको दमकमा भएको आगलागीबाट २ करोड ४८ लाख ३० हजार बराबरको क्षति भएको छ । प्रहरीको प्रारम्भिक क्षति संकलनबाट सो क्षति देखिएको हो । हिजो साँझ अन्दाजी ७ : २५ बजेको समयमा दमक नगरपालिका-५ लाइफलाइन अस्पताल छेउमा बस्ने प्रेम धिमालले घरमा सञ्चालन गरेको स्नेहा होटेलमा इन्भर्टरको लाईन सर्ट भई अचानक आगलागी भएको थियो ।
आगलागीबाट धिमालको काठ , टिनको बेरा र टिनकै छानो भएको एकतले घर, घरमा रहेको सुन ३५ तोला,लत्ताकपडा, भाँडावर्तन, खाटपात,फर्निचर, फ्रिज २ वटा,इन्भर्टर थान–१, नगद ४ लाखसमेत गरी अन्दाजी ७९ लाख ९० हजार बराबरको क्षति भएको छ । त्यस्तै रामवती भुजेलको पक्की वाल र टिनको छानो भएको एकतले घरमा आंशिक क्षति हुँदा अन्दाजी ५ लाख बराबरको क्षति भएको छ ।
त्यस्तै हल्दीबारी गाउँपालिका-५ घर भई हाल दमक ५ मा रुवि होटेल सञ्चालन गरिरहेका मेखबहादुर तामाङको टिनको छानो, टिन र तारको जालीको बेरा भएको एकतले घर , भाँडा बर्तन,लत्ताकपडा,फर्निचर,चामल,दाल,पेय पदार्थ,ल्यापटप थान–१,सुन १२ आना, होटेलमा रहेको अन्य सरसामानसमेत गरी अन्दाजी १३ लाख ४०हजार बराबरको क्षति भएको छ ।
आगलागीबाट सोही ठाउँमा रहेको लाइफलाइन अस्पतालको डायलिसिस वार्डको झ्यालबाट आगो पसी ६ वटा डायलिसिस मेसिन, ३ वटा एसी, एउटा सिसी क्यामेरा ,मेडिकल उपकरण गरी जम्मा १ करोड ५० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उक्त आगलागी दमक नगरपालिकाको २ वटा , कमल गाउँपालिका, गौरादह नगरपालिका, पथरी शनिश्चरे नगरपालिका र उर्लाबारी नगरपालिकाको १–१ वटा गरी जम्मा ६ वटा दमकल, इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायब उपरीक्षकको कमान्डमा २० जना र सशस्त्र प्रहरी गण पाडाजुंगीबाट सशस्त्र प्रहरी उपरीक्षकको कमान्डमा २५ जनाको टोली तथा स्थानीयहरूको सहयोगमा राति ८:२५ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।