२०८३ बैशाख ५ गते , शनिबार

बाह्रदशीका मुस्लिम छात्रालाई साइकल वितरण

sajilo news
झापा
२०८१ बैशाख ११ गते , मंगलबार
बाह्रदशीका मुस्लिम छात्रालाई साइकल वितरण

झापा बाह्रदशीका कक्षा ११ र १२ मा अध्ययनरत मुस्लिम छात्रालाई साइकल वितरण गरिएको छ। बाह्रदशी गाउँपालिकाभित्र सरकारी विद्यालय अध्ययन गर्दै आएका करिब ५० जना छात्रालाई साइकल वितरण गरिएको हो।

नेपाल मुस्लिम समाज विकास समिति बाह्रदशीको आयोजना तथा बाह्रदशी गाउँपालिकाको आर्थिक सहयोगमा विद्यालय जान असहज भएकै कारण धेरै मुस्लिम विद्यार्थीहरूले बिचैमा पढाइ छोड्ने गरेका कारण फूलबारी मावि, जनविकास मावि र पशुपति माविमा अध्ययनरत छात्राहरूलाई विद्यालय आवतजावत गर्न सहज होस् भनेर साइकल वितरण गरिएको मुस्लिम समाज विकास समितिका अध्यक्ष चान महम्मद हुसेनले बताए ।

मदरसा दारूल उलुम बाह्रदशीको प्राङ्गणमा आयोजित कार्यक्रममा नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदानसँगै आपसमा टोपी साटासाट गरेर इद मिलन कार्यक्रमसमेत गरिएको थियो।

बाह्रदशी मुस्लिम समाज विकास समितिका अध्यक्ष चान महम्मद हुसेनको अध्यक्षता तथा झापा क्षेत्र नं ३ प्रदेश सभा ‘ख’ का सांसद छविलाल चुडालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बाह्रदशी मुस्लिम समाज विकास समितिका सल्लाहकार मास्टर नसरूल्लाह मुनादीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सांसद चुडालले सरकारी विद्यालयमा पढ्ने विद्यार्थी हरेक कुरामा सक्षम रहने धारणा राख्दै शिक्षाको गुणस्तर विकास गर्नुपर्नेमा जोड दिए ।

सम्बन्धित समाचार