साउदीमा गैरकानुनी कामदारमाथि धडपकड
काठमाडौँ । साउदी अरेबियाले एक साताभित्रै आवाससम्बन्धी कानुन उल्लंघन गरेको आरोपमा १९ हजारभन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ । ११ हजार ९ सय ८७ व्यक्तिले रेसिडेन्सी नियम उल्लंघन गरेको पाइएको छ भने ४ हजार ३ सय ६७ व्यक्ति सीमा सुरक्षा उल्लंघनमा मुछिएका छन् । श्रम कानुन उल्लंघनमा करिब २ हजार ६ सय ९६ जना पक्राउ परेका छन् ।
रेसिडेन्सी नियमको उल्लंघन, सीमा सुरक्षा उल्लंघन र श्रम कानुन अपराधलगायत विभिन्न उल्लंघनमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न अभियानलाई तीव्र पारिएको साउदीको गृह मन्त्रालयले जनाएको छ । राज्यमा १ हजार ११ व्यक्तिको अवैध प्रवेशलाई सुरक्षाकर्मीले रोकेको मन्त्रालयले जनाएको छ । कानुन उल्लंघन गर्नेलाई ओसारपसार गर्ने र आश्रय दिने १८ जनालाई पनि सुरक्षा बलले पक्राउ गरेको जनाएको छ ।
४ हजार ४ सय ४५ महिलासहित ५६ हजार ५ सय ९७ जनालाई कानुनी कारबाही भइरहेको छ । गृह मन्त्रालयले क्र्याकडाउनको प्रतिक्रियामा धेरै कारबाही गरेको बताएको छ । उनीहरूले ४७ हजार ५ सय ८२ व्यक्तिलाई आ–आफ्नो कूटनीतिक नियोगमा यात्रा कागजातका लागि पठाई ३ हजार ५ सय ९९ व्यक्तिलाई यात्राको व्यवस्था गरेको र १२ हजार २ सय ५० व्यक्तिलाई देश निकाला गरिएको जनाएको छ ।
मन्त्रालयले गैरकानुनी सीमा नाकाबाट सहजीकरण गर्ने वा सहभागी गराउने व्यक्तिलाई कडा कारबाही गर्नुपर्नेमा जोड दिएको छ । यी दण्डमा १५ वर्षसम्मको जेल सजाय, १० लाख रियालसम्मको जरिमाना र यी अपराधमा प्रयोग हुने सवारीसाधन र सम्पत्ति जफत गर्ने व्यवस्था छ ।
मुलुकका सुरक्षा बलहरूद्वारा गरिएको क्र्याकडाउनले राज्यका सबै क्षेत्रहरूमा कानुन उल्लंघन गर्नेहरूलाई पक्राउ गरी कानुनी कारबाही गर्ने कार्य तीव्र रूपमा अघि बढाइएको छ । उनीहरूले जनतालाई राज्यभरि तोकिएका आपत्कालीन सम्पर्कहरूमार्फत कुनै पनि संदिग्ध उल्लंघनको रिपोर्ट गर्न आग्रह गरेको छ ।
पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरी धडपकड अभियान तीव्र पारेसँगै गैरकानुनी रूपमा त्यहाँ कार्यरत सयौं नेपालीहरू पनि पक्राउ परेका र हाल उनीहरूलाई जेलमा राखिएको र जेल अवधि समाप्त गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी डिपोर्ट गर्ने गरेको छ ।
साउदी जेलमा ६ सय १५ नेपाली कामदार विभिन्न आरोपमा जेल परेका छन् । हाल थुनामा रहेकामध्ये ८० प्रतिशत नेपाली कामदार मदिरा बनाउने, बिक्री गर्ने, मदिराको व्यापारमा संलग्न भएको र ओसारपसारको आरोपमा पक्राउ परेका छन् । आजको राजधानी दैनिकमा खबर छ ।