२०८३ बैशाख ५ गते , शनिबार

आगलागी नियन्त्रक नै समस्यामा

sajilo news
पत्रपत्रिका
२०८१ बैशाख २० गते , विहीबार
आगलागी नियन्त्रक नै समस्यामा

काठमाडौँको अधिकतम तापक्रम यो वर्षको उच्च ३३.५ डिग्री सेल्सियसभन्दा माथि उक्लँदै छ । तराईका जिल्लामा अझ उच्च ४५ डिग्री सेल्सियसभन्दा माथि चढ्दै छ । उच्च तापक्रम र सुक्खा खडेरीका कारण देशैभर डढेलो र आगलागी भयावह बन्दै छ । 

बुधबार साँझसम्म १८० भन्दा बढी स्थानमा आगलागी र डढेलोका घटना भएका छन् । यसले जनधनको क्षति बढाएको छ । जोखिमको अनुमान नगरी डढेलो र आगलागी निभाउन र उद्धार गर्न पुग्दा निभाउने र बचाउनेकै ज्यान जान थालेको छ । 

मङ्गलबार ललितपुरको गोदावरीस्थित विभिन्न सामुदायिक वन र लेलेको वनमा एकै चोटि डढेलो लाग्यो । घर, बस्ती र अस्पतालसमेत जलाउने गरी सल्किएको डढेलो निभाउन स्थानीय आफैँ जुटे तर सुरक्षित तरिकाले निभाउन नजान्दा दुई जनाको ज्यान गयो । गोदावरी–४ को तपेश्वर सामुदायिक वनमा डढेलो निभाउने क्रममा शङ्कर पहरी र रमेश पहरीको ज्यान गएको हो । सुरक्षाकै लागि खटिएका सैनिक र प्रहरी पनि डढेलोमा सुरक्षित देखिँदैनन् । डोल्पाको सामुदायिक वनको डढेलो निभाउन गएका तीन जना सैनिकको गत चैत २८ गते मृत्यु भएको थियो । त्यस्तै असावधानीले २०६६ सालमा रामेछापमा १३ जना सैनिकको ज्यान गएको थियो । 

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ यता आगलागी र डढेलोबाट १६ जनाको मृत्यु भइसकेको छ । घरभित्रै आगो लागेर घेरिएको अवस्थामा जलेर सम्भावित घटना भए पनि आगो निभाउन गएका नै जलेर मर्नु असुरक्षित अभ्यास भएको डढेलोविज्ञ सुन्दर शर्मा बताए । प्राधिकरणका विज्ञ शर्मासहतिको टोली पानी तान्ने पम्प लिएर गएका थिए । 

त्यहाँ पुग्दा दुई जना डढेलोले घाइते भइसकेका थिए । उनले भने, “डढेलोमा फायर फाइटरबाहेक अरू जानै हुँदैन ।” आगलागी र डढेलोमा पहिलो मानिसको ज्यान, दोस्रो घरबस्ती र तेस्रो वन जोगाउनु पर्छ । घरबस्तीमा पस्न लागेमा केही पर सुरक्षा घेरा बनाउनेबाहेक आगोमै होमिएर निभाउन तम्सनै नहुने शर्माले बताए ।  मङ्गलबार राति गोदावरीमा डढेलो निभाउन केहीबेर मात्र ढिला भएको भए वन नजिकै रहेका अस्पताल र घरहरू खरानी हुन्थे । एउटा दमकल बाटामै बिग्रेर थन्किएपछि प्राधिकरणको पम्प र तीन वटा दमकलको सहायताले आगो केही हदसम्म निभाउन सकिएको थियो । 

डढेलो घरबस्तीको भन्दा झन् विकराल हुने भएकाले निभाउँदा अधिक सावधानी अपनाउनु पर्छ । उनका अनुसार डढेलोले छिन छिनमै स्वभाव परिवर्तन गर्छ । उच्च रापका कारण फनफनी घुमिरहेको हावाले आगोका लप्का कतिखेर कहाँ घुमाइदिन्छ थाहै हुन्न । 

भिरालोपन र भूबनोटले पनि डढेलोको असरमा फरक पार्छ । भूगोलको मोहडा कता छ भन्नेले पनि डढेलोको प्रभावमा भिन्नता ल्याउँछ । दक्षिण मोहडा भएको वनमा आगो तलबाट माथि जान्छ भने उत्तर मोहडाकोमा माथिबाट तल झर्दै सल्कन्छ । त्यस्तो भूगोलको हिसाबले मात्र आगो निभाउने अभ्यास गर्नु पर्छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

सम्बन्धित समाचार