एनआरएनए कुवेत उपाध्यक्ष महिला ओसारपसार धन्दामा संलग्न भएको आरोप
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) कुवेतकी महिला उपाध्यक्ष रमिता तामाङले गैरकानुनी बाटो हुँदै एक नेपाली महिलालाई कुवेत पु¥याएको खुलासा भएको छ ।
सल्यान कपुरकोट गाउँपालिका–४ गाडापानी घर भएकी ती महिलालाई एनआरएनए कुवेतकी महिला उपाध्यक्ष तामाङले गैरकानुनी बाटो प्रयोग गर्दै एक कुवेती नागरिकको घरमा घरेलु कामदारका रूपमा काम लगाएको पाइएको हो । आफू समस्यामा परेपछि ती महिलाले सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गरेपछि सो तथ्य बाहिरिएको हो ।
ती महिलाले आफूलाई गत २७ अप्रिलमा कामबाट निकालिदिएको भन्दै सबै संघसंस्थालाई हारगुहार गर्दा पनि कतैबाट सहयोग नगरेपछि भिडियो बनाएको बताएकी छन् । उनले भिडियोमा भनेकी छन्, ‘म कोठामा लुकेर बसेकी छु, मलाई काम दिएको छैन, पासपोर्ट र हवाई टिकट पनि दिन्न भन्छ मालिकले, म कोठामा गुम्सिएर बसेकी छु, भोलि म यहाँ बस्दाबस्दै कोठाबाट निकालिदियो भने कहाँ जानु ? मलाई चाँडो उद्धार गर्नुहोस्, मलाई यहाँबाट निकालेर नेपाल फर्काउनुहोस्, म मेरो छोराछोरीको साथमा जान चाहन्छु, भोलि यो भिडियो मालिकले देख्यो भने मलाई यहीँ मार्छन् ।’
उनले आफूलाई नेपालबाट पठाउने भण्डारी थर गरेका एजेन्ट भारतमा बस्ने र अहिले सम्पर्कमा नआएको बताएकी छन् । आफू छोराछोरीको भविष्य बनाउन कुवेत आएको बताउँदै उनले आफूलाई जबर्जस्ती बिनागल्ती कामबाट निकालेको बताएकी छन् ।
‘गर्मीको समय छ, कोठाको एसी चलाउँदा पनि मालिक आएर बन्द गरिदिने गर्छ,’ उनले भनेकी छन् । यता, एनआरएनए कुवेतकी महिला उपाध्यक्ष रमिता तामाङले आफूले ती महिलालाई कुवेत ल्याएको स्वीकार गरेकी छन् । उनले भिसा रद्द गरेर तीन–चार दिनभित्र नेपाल पठाउने प्रक्रिया आफूले थालेको बताइन् । ‘ती महिलालाई मैले नै काम लगाइदिएको हो, घर मालिकसँग केही विवाद भएर कामबाट निकालिदिएको रहेछ, मैले पनि अलिक पछि थाहा पाएँ,’ उनले राजधानीसँग भनिन्, ‘मैले थाहा पाउने बित्तिकै घर मालिकलाई सम्पर्क गरेर बुझें, अहिले उनी सुरक्षित छिन्, भिसा क्यान्सिल भएपछि म आफैं टिकट काटेर नेपाल पठाउँछु, नेपालबाट आउँदा गैरकानुनी भए पनि यहाँ कानुनी रूपमै राखेको हुन्छ ।’
तामाङले पीडित महिलाले भिडियोमा भने जस्तो नभएको बताउँदै भनिन्, ‘होइन मैले दुई–चार दिन पर्खनु भनेकी थिएँ, भिडियो बनाइहालिछन्, तर पनि केही छैन, मैले मालिकलाई फोन गरेर म टिकट काटिदिन्छु भनेको छु, भिसा क्यान्सिल नगरी पठाउन नमिल्ने भएर मात्र हो, अब छिट्टै पठाउनेछु ।’ आजको राजधानी दैनिकमा खबर छ ।