२०८३ बैशाख ५ गते , शनिबार

रुसी सेनामा कार्यरत भोजपुरका प्रितमको मृत्यु, सिंगो गाउँ शोकमा

sajilo news
पत्रपत्रिका
२०८१ बैशाख २७ गते , विहीबार
रुसी सेनामा कार्यरत भोजपुरका प्रितमको मृत्यु, सिंगो गाउँ शोकमा

भोजपुर ।  कतिपय नसोचिएका अप्रिय घटनाहरूले जिन्दगीभरका लागि चोट दिइरहने गर्छ। यस्तै कहालीलाग्दो भयो पौवादुङमा गाउँपालिका-३, च्याङ्ग्रे औलियाका ६९ वर्षीय काजी राईलाई पनि। केही महिनाअघि मात्र रुसी सेनामा भर्ती भएका माइलो छोरो प्रितम राई ‘निरन’को गत शनिबार एकाएक मृत्युको खबरले परिवारमा ठूलो बज्रपात हुन पुग्यो।

गत भदौ अन्तिमतिर घरबाट विदेश लागेका प्रितम करिब ६ महिनाअघि रुसी सेनामा भर्ती भए। तर, गत मार्च महिनामै सैनिक हमलामा परी उनको मृत्यु भएको खबर झण्डै डेढ महिनापछि अर्थात् गत वैशाख २२ गते पाएपछि सिंगो परिवारमा अन्धकार छाएको छ। उनको मृत्युले यतिबेला सिंगो औलिया गाउँ नै शोकमा डुबेको छ।

‘छिटै फर्की आउँछु भन्थ्यो, परिवारको केही सपना पूरा गर्छु भन्थ्यो, तर अब कहिल्यै नफर्किने भयो मेरो माइला,’ बाबुकाजीले विलौना गर्दै भने, ‘उमेर त मेरो जानुपर्ने, भगवानले छोरो लग्यो।’ छोराको मृत्युको पीडाले उनी बेलाबेला भक्कानिने र मुर्छित हुने गर्छन्।

२०४४ साल वैशाख १ गते माइलो छोरोको रूपमा जन्मिएका प्रितम राई सानैदेखि मिलनसार र सहयोगी थिए। ३ भाइ छोरा र ५ बहिनी छोरी गरी ८ जना सन्तानमध्ये प्रितम घरमा सबैको प्रिय थिए। मिठो बोलचालले बाबा, आमा, दाजु दिदीहरूको मन जितेका थिए। घरका जेठा छोरा किरण राई सोही पौवादुङमा गाउँपालिकाका अध्यक्ष पनि हुन्। 

भाइको मृत्युको खबर पाएपछि जेठा दाइ किरण पनि मर्माहत छन्। ‘माइला तँ जीवितै छस् भनेर केही दिन र रातसम्म आशा थियो। तर, त्यो मेरो अनि परिवारको आशा आजबाट सधैंका लागि सकियो,’ विह्वल मुद्रामा किरणले भने। आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

सम्बन्धित समाचार