एक वर्षमा एक हजार १५३ जनालाई मृत्युदण्ड
गत सन् २०२३ मा चीनबाहेक विश्वभर एक हजार १५३ जनालाई मृत्युदण्ड दिइएको छ। यो पछिल्लो दशकमा एकै वर्षमा मृत्युदण्ड दिइएको सबैभन्दा ठूलो संख्या हो। एमनेष्टी इन्टरनेसनलले सार्वजनिक गरेको रिपोर्टअनुसार मध्यपूर्वी एसियाली देशमा सबैभन्दा बढी मृत्युदण्ड दिइएको छ। रिपोर्टमा चीनमा मृत्युदण्ड दिइएका हजारौँ मानिसलाई सामेल नगरिएको एमनेष्टीले जनाएको छ।
सन् २०१५ मा विश्वभर १६ सय ३४ जनालाई मृत्युदण्ड दिइएकोमा त्यसयता गत वर्ष नै सबैभन्दा धेरै मानिसलाई मृत्युदण्ड दिइएको हो। रिपोर्टमा चीनले एक हजारभन्दा बढीलाई मृत्युदण्ड दिएको अनुमान गरिएको छ।
यद्यपि एकिन विवरण सार्वजनिक गरिएको छैन। गत वर्ष इरान एक्लैले कम्तीमा ८५३ जनलाई फासीमा चढाएको रिपोर्टको दाबी छ। अघिल्लो वर्ष ईरानले ५ सय ७६ जनालाई मृत्युदण्ड दिएको थियो। इरान बाहेक सबैभन्दा बढी मृत्युदण्ड दिने देशमा साउदी अरब, सोमालिया र अमेरिका छन्।
विश्वका १४४ देशले मृत्युदण्डको सजाय नदिने कानून बनाएको र ११२ देशले पूर्णरूपमा कार्यान्वयन गरिसकेको अवस्था छ। यसबाहेक अन्य देशले दिने मृत्युदण्डको संख्यासमेत भयानक रहेको रिपोर्टमा जनाइएको छ। मलेसिया, पाकिस्तान तथा श्रीलंकालगायतका देशले मृत्युदण्डको सजाय सुधार गरिरहेको रिपोर्टमा उल्लेख छ।