२०८३ बैशाख ४ गते , शुक्रबार

पूरा भएन जन्मगाउँमै बस्ने पाइलट अरुणको योजना

sajilo news
पत्रपत्रिका
२०८१ श्रावण २४ गते , विहीबार
पूरा भएन जन्मगाउँमै बस्ने पाइलट अरुणको योजना

बेनी ।  जन्मघर जिर्णोद्धार गर्न लगाए। सेवा निवृत्त जीवन गाउँमै बिताउने योजना सुनाए। आफन्त र छरछिमेकी पनि खुसी थिए। तर, अरुण मल्ल जन्मघर नफर्किंदै सदाका लागि बिदा भए। जीर्णोद्धार भइरहेको उनको घर हेर्दै आफन्त र गाउँले पीडामा छन्।  

पाइलट मल्ल एयर डाइनेस्टीको हेलिकप्टर उडाउँथे। ९ एन –एजेडी हेलिकप्टर लिएर बुधबार रसुवाको स्याफु्रबेंसी जाँदै थिए। तर, नुवाकोटको शिवपुरी–९ मा दुर्घटना भयो। सेवा निवृत्त जीवन गाउँमै बिताउने उनको सपनाको अन्त्य भयो। पाइलट मल्लको परिवार उनी सानै छँदा म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीबाट बसाइँसराइ गरेर काठमाडौं गएका थिए। 

गत चैतमा जन्मथलो भगवती आएका मल्लले आफन्त र छिमेकीहरूसँग जन्मथलो फर्किएर सेवानिवृत जीवन बिताउने योजना सुनाएका थिए। ‘अब एक वर्षभित्र हेलिकप्टर चलाउन छोड्ने र त्यसपछि गाउँ आउने योजना सुनाउनुभएको थियो,’ अरुणका भतिज रिम मल्लले भने, ‘काका (अरुण)को योजना सुनेर उत्साहित भएका हामी दुर्घटनाको खबरले मर्माहत भएका छौं।’

मल्लको भगवतीमा रहेको पुख्र्यौली घर पुरानो भएकाले जीर्णोद्धार थालिएको थियो। पुख्यौली जग्गामा खेतीपाती र पशुपालन गरेर सेवानिवृत्त जीवन बिताउने मल्लको योजना अधुरै रह्यो। काठमाडौंमा बसे पनि अरुणले गाउँको सामाजिक क्रियाकलापमा सघाउने गरेका थिए। 

अरुणका एक जना दाजु र तीन जना दिदीबहिनी छन्। बेनीकी चन्नु मल्लसँग विवाह गरेका अरुणका २ छोरी छन्। उनीहरूको पनि बिहे भइसकेको छ। अरूणको परिवार हाल ललितपुरमा बस्ने गरेको उनका साथी कर्णबहादुर भण्डारी (केबी)ले बताए।   

‘म्याग्दीमा बिरामीलाई आकस्मिक रूपमा अस्पताल पुर्‍याउन, धौलागिरि, अन्नपूर्ण हिमालमा हुने दुर्घटना तथा विपद्को समयमा हेलिकप्टर आवश्यक पर्दा सम्झने व्यक्तिनै अरुण हुनुहुन्थ्यो,’ भण्डारीले भने, ‘रघुगंगा गाउँपालिका र म्याग्दी जिल्लाले मात्र नभएर नेपालले एक जना अनुभवी, साहसी पाइलट गुमाएको छ।’ 

करिब ३० वर्षदेखि हेलिकप्टर उडाउँदै गरेका अरुणले म्याग्दीबाट ०५६ मा निर्वाचित सांसदसमेत रहेका स्व. नारायणसिंहको कर्णाली एयरको हेलिकप्टर उडाएका थिए। द्वन्द्वकालमा समेत हेलिकप्टर उडाएका मल्लले हेलि उद्धारका काममा प्राथमिकता दिने गरेको भण्डारीले स्मरण गरे।  

गत वैशाख २८ गते मनाङको नासो गाउँपालिकास्थित भिस्ताङ भ्यालीमा बिरामी उद्धारका लागि अरुणले उडाएको हेलिकप्टर चढेका जिल्ला प्रशासन कार्यालय मनाङका तत्कालीन नायव सुब्बा ज्ञानदिप विश्वकर्मा (कुशल)ले भने, ‘उहाँ (अरुण) अनुभवी र शाहसी पाइलट हुनुहुन्थ्यो।’

ज्ञानदिपसँग पनि मल्लले एक वर्षपछि हेलिकप्टर उडाउन छाडेर गाउँ फर्किएर बस्ने योजना सुनाएका थिए।    मृदुभाषी र आँटीला स्वभावका अरुणको निधनले जन्मथलो राखु भगवती शोकमा डुबेको छ। आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

सम्बन्धित समाचार