बंगलादेशी हिन्दू असुरक्षित, सुरक्षाको कारण देखाउँदै हजारौँ पुगे भारतीय सीमामा
कोलकाता । प्रधानमन्त्री शेख हसिना सत्ताच्युत भएको केही दिनपछि सुरक्षाको समस्या देखाउँदै हजारौँ बंगलादेशी भारत प्रवेशका लागि भारत–बंगलादेश सीमामा भेला भएका बिहीबार सुरक्षा अधिकारीहरूले बताएका छन्। हसिनाको पलायनपछि मुस्लिम बहुल बंगलादेशका हिन्दूहरूको स्वामित्वमा रहेका केही व्यवसाय र घरमा आक्रमण गर्न शुरु गरेका छन्।
‘हजारौँ बंगलादेशी हिन्दूहरू बंगलादेशसँगको भारतको सिमानामा भेला भएका छन्’, भारतको सीमा सुरक्षाबल (बीएसएफ) का उपमहानिरीक्षक अमितकुमार त्यागीले भने।
पश्चिमबंगाल राज्यको भारतीय सीमाक्षेत्रको अन्तिम विन्दुमा हजारौँ भेला भएको त्यागीले बताए। ‘दुई देशबीचको सीमामा कुनै पर्खाल नभएको कारण बीएसएफका जवानले भीडलाई टाढा राख्न मानव ढाल निर्माण गरेका थिए। अधिकारीहरूले सीमा क्षेत्रबाट भीड पन्छाउन हवाई फायर गरेका थिए’, उनले भने।
सन् २००९ देखि सत्तामा रहेकी ७६ वर्षीया हसिनाले एक महिनाभन्दा बढी चलेको आक्रामक विरोध प्रदर्शनपछि सोमबार राजीनामा दिएकी हुन्। बंगलादेशमा हिन्दु, बौद्ध मन्दिरमा आक्रमण हुन थालेका छन्।