२०८३ बैशाख २४ गते , विहीबार

रहेनन् पश्चिम बंगालका अन्तिम वामपन्थी नेता बुद्धदेव भट्टाचार्य

sajilo news
झापा
२०८१ श्रावण २४ गते , विहीबार
रहेनन् पश्चिम बंगालका अन्तिम वामपन्थी नेता बुद्धदेव भट्टाचार्य

पश्चिम बंगालका अन्तिम वामपन्थी मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको आज कोलकातास्थित आफ्नै निवासमा निधन भएको छ। भट्टाचार्य भारतमा वामपन्थी विचारधाराको उदय र अस्त दुवै देख्न पाउने वामपन्थी नेता हुन्।

ज्योति वसुले हुर्काएको वामपन्थी विचारधारालाई उनले अगाडि बढाएका थिए। ११ वर्षसम्म भट्टाचार्य पश्चिम बंगालमा वामपन्थी सरकारका प्रमुख रहे।

उनकै पालामा सिंगूर र नन्दीग्राममा आन्दोलन भयो। त्यसपछि पश्चिम बंगालमा वामपन्थीहरू उठ्नै नसक्ने गरी कमजोर भए। सन् २०११ मा उनले पश्चिम बंगालमा 'लाल किल्ला' ढलेको देखे। त्यसपछि उनी राजनीतिदेखि अलग रहे।

सन् २००६ को विधानसभा चुनावमा १७६ सिट जितेको उनको पार्टी २०११ मा ४० सिटमा खुम्चिएको थियो। २०२१ मा भएको पछिल्लो चुनावमा त पश्चिम बंगालमा वामपन्थीसँग १ सिट पनि रहेन।

सन् २०२२ मा नरेन्द्र मोदीको सरकारले पद्म विभूषण सम्मान दिन खोज्दा उनले अस्वीकार गरेका थिए। उनले वामपन्थी नेताले जनताका लागि काम गर्ने भएकाले सम्मान लिनु हुँदैन भन्ने तर्क गरेका थिए। यसलाई उनको जीवनको ठूलो आदर्श मानिन्छ।

मुख्यमन्त्री र सांसद रहेका उनले आफ्नो तलब सधैँ पार्टीलाई बुझाउँथे। उनको अन्तिम समय पनि दक्षिण कोलकातास्थित २ कोठे फ्ल्याटमा बित्यो। उनले निजी अस्पतालमा पनि उपचार गराउन मानेका थिएनन्।

उनी सबैभन्दा बढी वामपन्थी लगायतका बुद्धिजीवीसँग आक्रोशित थिए। उनीहरूले सिंगूर आन्दोलनपछि भट्टाचार्यलाई दोषी ठहर्‍याएका थिए। भूमि सुधारपछि पश्चिम बंगालमा औद्योगिक विकास गर्न नसकेकोमा उनी चिन्तित देखिन्थे।

उनको सत्ता हुँदा टाटा कम्पनीका मालिक चर्चित उद्योगी रतन टाटाले पश्चिम बंगालमा नानो कार उत्पादन गर्न कम्पनी राखेका थिए। यसका लागि जग्गा अधिग्रहण गरिदै थियो। पश्चिम बंगालमा वामपन्थी र तृणमूलबाट यसको विरोध हुन थालेपछि टाटा कम्पनी सन् २००८ मा गुजरातमा सरेको थियो। उक्त कम्पनी गुजरातमा सरेसँगै गुजरातमा आर्थिक उन्नतिमा सहयोग पुग्नुका साथै रोजगार सिर्जना भएको थियो। 

यो घटनाले भट्टाचार्य सरकार आलोचित बन्न पुग्यो। यो आन्दोलनलाई तृणमूल कंग्रेसकी नेतृ ममता बनर्जीले नेतृत्व गरिन्।  योसँगै पश्चिम बंगालबाट वामपन्थीहरू नराम्ररी बढारिए।

सम्बन्धित समाचार