२०८३ बैशाख २६ गते , शनिबार

ढाकेश्वरी मन्दिर पुगे युनुस‚ बंगलादेशमा अत्याचारीलाई कारबाही गर्न हिन्दू-बौद्ध धर्मावलम्बीको माग

sajilo news
एजेन्सी
२०८१ श्रावण २९ गते , मंगलबार
ढाकेश्वरी मन्दिर पुगे युनुस‚ बंगलादेशमा अत्याचारीलाई कारबाही गर्न हिन्दू-बौद्ध धर्मावलम्बीको माग

ढाका । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुस आज राजधानी ढाकास्थित हिन्दू मन्दिर ढाकेश्वरी पुगेका छन्। मन्दिर बाहिर पुगेर उनले बंगलादेशलाई ‘एक परिवार’ बनाउनुपर्ने बताएका छन्।

बंगलादेशमा सत्ता परिवर्तनपछि अल्पसंख्यक हिन्दू बौद्धमाथि आक्रमण भएको एक सातापछि उनी ढाकेश्वरी मन्दिर पुगेका हुन्। साथै अल्पसंख्यकको अधिकार आन्दोलनका ५ सदस्यीय प्रतिनिधिमण्डललाई उनले भेटेका छन्। अल्पसंख्यक विद्यार्थी संगठनले ८ सूत्रीय माग बुझाएका छन्।

युनुसले भने‚ 'सुन्नमा आएको छ- देशमा आपसमा विभेद बढेको छ। यद्यपि म ढाका विमानस्थलमा उत्रँदा बंगलादेशलाई सिंगो परिवार बनाउन चाहन्छु। यहाँ कुनै भेदभाव हुनेछैन। हामी बंगलादेशी हौँ भन्ने  सुनिश्चित गर्न चाहन्छु भनेको थिएँ।’

उनले केही समयमा सबै ठिक हुने भन्दै धैर्य गर्न आह्वान गरेका छन्। उनले अन्तरिम सरकारलाई धेरै सहयोग मिलेको बताए। यतिखेर आफूलाई कुनै दोष नदिन पनि आग्रह गरे।

गत ५ तारिखमा पूर्वप्रधानमन्त्री शेख हसीना राजीनामा दिएर भारत पलायन भएकी थिइन्। त्यसपछि बंगलादेशमा लुटपाट र प्रदर्शन चलिरहेको छ। हिन्दू‚ बौद्ध लगायतका अल्पसंख्यकका घर‚ पसल जलाई निशाना बनाइएको छ। सत्तापलटपछि ५२ जिल्लामा हिन्दू बौद्धमाथि आगजनी र हत्याका २०५ घटना भएका थिए।

हिन्दू धर्मावलम्बीका ५१ शक्ति पीठमध्ये ढाकेश्वरी मन्दिर एक हो। यो मन्दिरलाई बंगलादेशको राष्ट्रिय मन्दिर पनि भनिन्छ। यही ढाकेश्वरी देवीको नाममा शहरको नाम ढाका रहेको हो। यो मन्दिर सेन वंशका राजा बल्लालले १२ औं शताब्दीमा निर्माण गरेका थिए। दुर्गा पूजाको अवधिमा धेरै दर्शन भक्तजन यहाँ पुग्छन्। त्यसैले युनुस ढाकेश्वरी मन्दिर पुगेका हुन्।

यसअघि शुक्रबार र शनिबार हजारौँ हिन्दूले ढाका र चटगाउँमा विशाल विरोध प्रदर्शन गरेका थिए। उनीहरूले आफ्नो सुरक्षाको माग गरेका थिए। धर्मका आधारमा आफूमाथि अत्याचार भएको भन्दै उनीहरूले आक्रोश पोखेका थिए।

आफूमाथि अत्याचार भएको कुरा सरकारले नसुनेको भन्दै शनिवार मात्रै ढाकाको बीच सडकमा ३ घण्टा सडकमा र्‍याली गरेका थिए। शनिवारको यो प्रदर्शनसँगै युनुसले युवाहरूलाई हिन्दू, इसाई र बौद्ध धर्मावलम्बीको रक्षाका लागि आग्रह गरेका थिए।

उनीहरूले युनुससँग अल्पसंख्यकमाथि अत्याचार भएका मुद्दाको छिटो सुनुवाइ गर्न विशेष अदालतको माग गरेका छन्।संसद्‌मा अल्पसंख्यकका लागि १० प्रतिशत संसदीय सीटको माग र अल्पसंख्यकको सुरक्षा कानून लागू गर्ने माग गरेका छन्। आफूहरूमाथि अत्याचार भएपछि लाखौँ हिन्दू शरीरमा रहेका लुगाका मात्रै लगाएर भारतको सीमाक्षेत्रमा जम्मा भएका थिए। उनीहरू सीमाक्षेत्रमा खुला चौर र खेतमा बसेका देखिन्थे।

सम्बन्धित समाचार