वाईसीएल संयोजक शेर्पामाथि भएको आक्रमणको निन्दा
बिर्तामोड । झापा बुद्धशान्ति वाईसीएल संयोजक पङ्कज शेर्पामाथि आइतबार भएको आक्रमणको घटनाप्रति वाइसीएल नेपाल जिल्ला समिति झापाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
एक विज्ञप्ति जारी गरी मेचीनगर १२ घर भएका बालकुमार विष्ट र नवीन विष्टले घरेलु हातहतियारसहित शेर्पामाथि आक्रमण गरेको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । मेची राजमार्ग सडक खण्ड अन्तर्गत मेचीनगर १२ स्थित सहरेडाँगी उत्तर सडकमा हातहतियार सहित विष्टद्वयले शेर्पालाई आक्रमण गरेको वाइसीएल नेपाल झापाले जनाएको छ । ‘मेची राजमार्ग अन्तर्गत चारआली इलाम सडक खण्ड अन्तर्गतको सहरेडाँगी उत्तर सडकमा पाटी अध्यक्ष क. प्रचण्ड आउने कार्यक्रममा सहभागी हुन जाने क्रममा ट्याक्सी चालकले अनियन्त्रित ढङ्गले सवारी चलाएको र सो सवारी चालकलाई सवारी रोक्न लगाई सम्झाइबुझाई गरेसँगै घटना मिलेको अवस्थामा निजहरू बालकुमार विष्ट र नवीन विष्टले एक्कासि घरेलु हातहतियार, बाइकको हेलमेटले अन्धाधुन्ध प्रहार गरी आक्रमण गरेको, जुन कुनै संस्थागत विषय भएको भए बसेर संवाद र छलफल द्वारा निकास निकाल्न सकिने अवस्थालाई नजरअन्दाज गर्दै यसरी आक्रमण गरिनु निन्दनीय छ,’ विज्ञप्तिमा भनिएको छ ।
‘हाम्रो संगठन अन्याय, अत्याचार एव गुन्डाराज अन्त्यको विरुद्धमा लडेर स्थापित हुनुको साथै हाम्रा सङ्गठनका सहयोद्धाको संरक्षण गर्न सक्षम रहेको सर्वविद्धित छ,’ विज्ञप्तिमा उल्लेख छ । वाइसीएलले घटनामा संलग्नलाई पक्राउ गरी सत्यतथ्य छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारबाईको मागसमेत गरेको छ ।
