२०८३ बैशाख २४ गते , विहीबार

जातीय झडपपछि मणिपुरमा कर्फ्यु

sajilo news
रासस
२०८१ भाद्र २६ गते , बुधबार
जातीय झडपपछि मणिपुरमा कर्फ्यु

नयाँदिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा जारी जातीय झडपको पछिल्लो चरणमा भएको हत्याको निन्दा गर्दै निरन्तर प्रदर्शन गरेपछि मंगलबार कफ्र्यु जारी गरिएको अधिकारीहरूले बताएका छन् । मणिपुरमा हिन्दू मेइतेई बहुमत र मुख्यतया इसाई कुकी समुदायबीच एक वर्षभन्दा बढी समयदेखि आवधिक झडपहरू भइरहेका छन् । केही महिनाको सामान्य शान्तिपछि दुई समुदायबीच फेरि शत्रुता बढेपछि झडपमा गत हप्ता कम्तीमा ११ जनाको मृत्यु भएको थियो ।

प्रहरीका अनुसार विद्यार्थीको नेतृत्वमा भएको विरोध प्रदर्शनपछि सोमबार प्रहरीसँग झडप भएपछि मणिपुरको राजधानी इम्फाल र वरपरको उपत्यकामा कफ्र्यु लगाइएको हो ।

इम्फालमा राज्यका राज्यपालको निवासको सुरक्षामा खटिएका सुरक्षाकर्मी माथि विद्यार्थीहरूले ढुंगा तथा प्लास्टिकका बोतलहरू प्रहार गरेको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रदर्शनकारीहरूले प्रहरीसँग हतियार खोसी गोली हानेको विज्ञप्तिमा उल्लेख छ । मणिपुरको स्थानीय सरकारले अर्को आदेश नआउन्जेले पूर्ण कफ्र्युको घोषणा गरेको छ । प्रदर्शनकारीहरूले गत हप्ता ‘इम्प्रोभाइज्ड’ प्रक्षेप्य हतियार र ड्रोन आक्रमण गरेको आरोपमा कारबाहीको माग गरेपछि प्रहरीले मणिपुरमा हिंसाको वृद्धि भएको प्रहरीले जनाएको छ ।

मेइतेई र कुकी समुदायहरू बीच लामो समयदेखि चलिरहेको द्वन्द्व भूमि तथा सार्वजनिक रोजगारीको प्रतिस्पर्धाको विषयमा केन्द्रित छ । यसैबीच अधिकारकर्मीले स्थानीय नेताहरूले राजनीतिक लाभका लागि जातीय विभाजन बढाएको आरोप लगाएका छन् । रासस/एएफपी ।

सम्बन्धित समाचार