राज्यमन्त्री बनेका झापाका राजवंशी को हुन् ? बधाई दिनेको ओहिरो
झापा । कोशी प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेका भूमिप्रसाद राजवंशीलाई बधाईको ओहिरो लागेको छ । झापा कचनकवल गाउँपालिका- ३ घर भएका राजवंशी नेपाली काँग्रेसको तर्फबाट शुक्रबार राज्यमन्त्री बनेका हुन् । राजवंशी राज्यमन्त्री बनेसँगै उहाँलाई भोट दिएर जितेका झापा क्षेत्र नम्बर ३ (क) जनतामा खुसीयाली नै छाएको छ । उनलाई भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिकाले शनिबार छुट्टाछुट्टै कार्यक्रम गरी बधाई दिएको छ । साथै उनकै पालिका तथा वडाका जनताहरूले अहिले उनलाई भेटेर बधाई तथा शुभकामना दिइरहेको जनाइएको छ ।

गत निर्वाचनमा प्रदेश सभातर्फ झापा ३ (क)मा गठबन्धनको तर्फबाट राजवंशी निर्वाचित भएका थिए । एमाले–राप्रपा गठबन्धनका तर्फबाट एमालेका वसन्त बनियाँलाई पराजित गर्दै उनी विजयी भएका थिए । राजवंशीले २० हजार ७७० मत ल्याउँदा बानियाँले १९ हजार ७०३ मत पाएका थिए । बीकम, बीएड उत्तीर्ण गरेका राजवंशीले २०४७ सालदेखि २०७४ सालसम्म प्रावि, माविमा शिक्षण गरेका साथै स्रोत व्यक्तिका रूपमा समेत उनले शैक्षिक क्षेत्रमै योगदान पुर्याएका थिए
जिल्लाको दक्षिणी भेगका विभिन्न सामुदायिक विद्यालयहरूमा अंग्रेजी शिक्षा पठनपाठन गराउन अग्रणी भूमिका निर्वाह गरेका र सामुदायिक विद्यालयहरूमा कम्प्युटर सम्बन्धी पठनपाठनका लागि स्रोत जुटाउने काम उनले गरेका थिए । काँग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी संघमा विद्यार्थी कालदेखि सक्रिय रहेका राजवंशी शिक्षण पेसामा रहँदा शिक्षक युनियनको केन्द्रीय पार्षद्सम्म बनेका थिए । पेसाबाट निवृत्त भएपछि नेपाली काँग्रेस पार्टीको विभिन्न पदमा क्रियाशील उनी महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य हुँदै महाधिवेशन सदस्य र पार्टीको कोशी प्रदेश कार्यसमिति सदस्य छन् ।