२०८३ बैशाख ३ गते , विहीबार

बिर्तामोडका तीन जना उत्कृष्ट शिक्षक पुरस्कृत

sajilo news
झापा
२०८१ आश्विन २ गते , बुधबार
बिर्तामोडका तीन जना उत्कृष्ट शिक्षक पुरस्कृत

बिर्तामोड नगरपालिकाले उत्कृष्ट शिक्षकलाई पुरस्कृत गरेको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईँको प्रमुख आतिथ्यमा  नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहका एक–एक जना गरी ३ जना शिक्षकलाई राष्ट्रिय शिक्षा दिवस तथा बाल दिवसको अवसरमा पुरस्कृत गरिएको हो ।

पुरस्कृत हुने उत्कृष्ट शिक्षकहरूमा माध्यमिक तहबाट महेन्द्ररत्न माध्यमिक विद्यालयका शिक्षक तुलसीराम खरेल, निम्न माध्यमिक तहबाट वीर अमरसिंह माध्यमिक विद्यालयका शिक्षक हेमकुमार उप्रेती र प्राथमिक तहबाट जनता प्राथमिक विद्यालयका शिक्षक लक्ष्मीप्रसाद गौतम रहेका छन् । आवेदन परेका विभिन्न १७ वटा निवेदनमाथि २० वटा सूचकको आधारमा उत्कृष्ट शिक्षक छनोट गरिएको समितिका संयोजक पूर्व उपसचिव युवराज पाण्डेले जानकारी दिए । ३ सदस्यीय छनोट समितिमा पाण्डेसहित डम्बर बस्नेत र दिनेश आचार्य रहेका थिए ।

संयोजक पाण्डेका अनुसार एक सय पूर्णाङ्कमा खरेल र उप्रेतीले ६८ प्रतिशत र गौतमले ६१.५ प्रतिशत नम्बर प्राप्त गरेका थिए । शिक्षकहरूलाई नगर प्रमुख पवित्रा महतारा प्रसाईँ र उप प्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले जनही नगद ५० हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईँले शिक्षकको मनोबल उच्च बनाउनका लागि यो पुरस्कार तथा सम्मानको व्यवस्था गरिएको बताइन् । उनले आगामी वर्षहरूमा पनि कार्यक्रमलाई निरन्तरता दिने बताइन् ।

यस्तै नगर उपप्रमुख सङ्ग्रौलाले पुरानो पाठ्यक्रम परिवर्तन गर्नु पर्ने भन्दै जीवनोपयोगी र प्राविधिक शिक्षा आजको आवश्यकता रहेकोमा जोड दिए ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, कार्यपालिका सदस्य, विभिन्न शिक्षक सङ्गठनका प्रतिनिधि तथा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थीको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार