झ्याप्ले खोला पहिरो : फराकिलो ठाउँ देखेर गाडी रोकिए, त्यही ठाउँमा पहिरोले पुर्यो
चितवन । फराकिलो ठाउँ देखेर सवारी पार्किङ गरिए । त्यही ठाउँमा पहिरो खस्यो । त्रिभुवन राजपथको झ्याप्ले खोलामा खसेको पहिरोले तीनवटा यात्रुवाहक साधन र ३५ जनालाई एकैपटक पुर्यो ।
फराकिलो ठाउँ देखेर रोकिएका गाडी माथिबाट लेदोसहितको १० फिट अग्लो पहिरो खस्यो । जोखिमयुक्त सडकका कारण अनाहकमा यात्रुले ज्यान गुमाए, कैयांैले सास्ति पाए । रातिमा खसेको पहिरोले राजधानीको यात्रामा निस्केकाहरूको जिन्दगीको यात्रा नै टुंग्याइदियो । धुनिबेंसी नगरपालिका–९ झ्याप्ले खोलामा क्षणभरमै धेरैको सपना समाप्त भए ।
घटनामा बिचल्ली पर्ने यात्रुको चिच्चाहट पनि उस्तै थियो । कोही विदेशको उडान, कसैलाई परीक्षाको चटारो । यो बाध्यतालाई रोकेन झरी र पहिरोले । हिँडेरै सकसको यात्रा गरेर राजधानी प्रवेश गरे । भिरको बाटो अनि पहिरोको डर । जोखिम मोलेरै धेरैले सास्तिको यात्रा गरे । यिनै मध्ये चितवनस्थित भरतपुर ४ का दयाराम पौडेलले भिरको बाटो छिचोलेरै काठमाडौं पुगेको बताए । वैदेशिक रोजगारका लागि अन्तर्वार्ताका हिँडेका पौडेलले जोखिमको यात्रा मात्रै गरेनन् , सास्ति पनि पाए । ‘राजधानी जाने बाटोको हालत यस्तो रह्यो कि ज्यान हत्केलामा राखेर हिडेर काठमाडौं आएँ, ’ उनले भने , ‘बाटोमा भगवान पुकार्दै परिवार सम्झिदै हिडे ।’ प्रहरीले छोटो बाटो देखाइदिएपछि उनीहरू हिँडरै राजधानी छिरे ।
राजमार्गको सबै ठाँउमा पहिरो खसेको छ । त्रासको मानसिकतामा अधिकांशले यात्रा गरे । नौबिसेभन्दा माथि बढी जोखिम छ । सित्रेखोलाभन्दा माथि धेरै पैदल यात्रा गए । पहिरोले हिँड्न सकस भए पनि कामको बाध्यताले यात्रा गरे ।
चितवनबाट अध्ययनका लागि गएका पूर्वी चितवन जुटपानीका सुप्रिम कँडेलले जीवनकै कष्टकर यात्रा गरेको दुखेसो गरे । ‘पढ्नका लागि भर्ना गर्ने समय सकिन लाग्यो । बीचमा आएपछि यस्तो भयो । नफर्किन मिल्यो न अगाडि जान । कहाँ कतिखेर पहिरो आउँछ, डरैडरमा ज्यान बचाएर काठमाडौं पुगें,’ उनले भने , ‘भोकले रन्थनिएको बेला बाटोमा त्यस्तै महँगीको मारमा परेम् । सारै दुःख पाइयो ।’
घटनास्थलमा यात्रु र तीनका आफन्तको चिच्चाहट र कोलाहल पनि कम्ती दर्दनाक थिएन । घटनास्थलबाट आठ किलोमिटर परसम्म सवारी जाम थियो । पछि चन्द्रागिरि नगरपालिकासँगको समन्वयमा सुरुङ मार्गबाट अलपत्र तरकारी, मासुजन्य पदार्थ, पशुचौपाया ढुवानीका साधनलाई पनि सुरुङ मार्गबाट प्रवेश गराइएको थियो । सडकमा रहेका यात्रुले महँगो शुल्क तिरेर खाएका थिए ।
राजधानीबाट १५ किलोमिटरको दूरीमा रहेको घटनास्थलमा उद्धारमा ढिलाइ भयो । सरकारको सक्रियतामा तदारुकता देखिएन । शनिबार बिहान साँझबाट थालिएको उद्धारको काममा शनिवार राती करिब आठ बजे मात्रै सकिएको थियो । घटनास्थलभन्दा करिब तीन सयम मिटर माथीबाट पहिरो खसेको हो
गोरखाको धार्चे गाउँपालिका–७ लापुबेँसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बसमा पाँच जना फेला परे । बसबाट चालक गोरखा भीमसेन थापा गाउँपालिका ४ धावाका मदन दमाई, बसका स्टाफहरू धावाकै विनय भट्टराई, गण्डकी गाउँपालिका फुजेलका नवराज तिवारी, धार्चे गाउँपालिका– ७ का सुकबहादुर गुरुङ रहेको गोरखा दरौंदी यातायात सेवा प्रालिले जनाएको छ । चितवनबाट गएको बा २ ख १३४५ नम्बरको माइक्रो बस (जम्बोहाइस) मा चालक सहित १६ जना को शव फेला परेको थियो । बुटवलबाट गएको लु १ ज ४५७८ नम्बरको माइक्रोबसमा डेढ वर्षको बच्चासहित १४ जनाको शव फेला पर्यो ।