वैदेशिक रोजगार : मृतकका परिवारलाई १० लाख क्षतिपूर्ति
वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने कामदारका परिवारले क्षतिपूर्तिबापत १० लाख पाउने भएका छन् । वैदेशिक रोजगारीबाट स्वदेश फर्केको एक वर्षभित्र मृत्यु हुने कामदारका परिवारले पनि १० लाख नै क्षतिपूर्ति पाउनेछन् । सरकारले वैदेशिक रोजगार नियमावलीमा संशोधन गरेर क्षतिपूर्ति रकममा वृद्धि गरेको हो ।
यसअघि वैदेशिक रोजगारीका क्रममा मृतकका परिवारले ७ लाख रुपैयाँ क्षतिपूर्ति पाउँथे । केपी शर्मा ओली नेतृत्वको सरकारको सय दिन पुगेको अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले क्षतिपूर्ति रकम वृद्धि गर्ने प्रस्ताव गरेको हो । मन्त्रिपरिषद्ले वैदेशिक रोजगार नियमावली २०६४ को नियम २८ को (२ ) मा छैटौं संशोधन गर्दै क्षतिपूर्ति रकम वृद्धि गर्ने निर्णय गरेको श्रममन्त्री शरतसिंह भण्डारीले जानकारी दिए ।
वैदेशिक रोजगारीका क्रममा बिरामी परी उपचार खर्च नपाएर मृत्यु हुनेका परिवारलाई पनि १० लाख उपलब्ध गराउने व्यवस्था गरिएको मन्त्री भण्डारीले जानकारी दिए । ‘वैदेशिक रोजगारीमा गएर मृत्यु भएकाका परिवारलाई १० लाखसम्मको राहत दिने, वैदेशिक रोजगारीमा रहेका बेला उपचारका क्रममा मृत्यु भएकालाई उपचार खर्चका साथै राहत रकम दिने काम सुरु गरेका छौं,’ मन्त्री भण्डारीले भने ।
उनका अनुसार कुनै पनि देशमा वैधानिक रूपमा काम गरिरहेका नेपालीलाई नेपाल सरकारले पनि वैधानिक बनाउनका लागि नियोगहरूमार्फत श्रम स्वीकृति लिन सक्ने व्यवस्था गरिएको छ । उनले भने, ‘भिजिट भिसामार्फत भइरहेको दुरुपयोग रोक्नका लागि मन्त्रालयले गम्भीर भएर काम गरिरहेको छ ।’ आजको अन्नपूर्ण पोष्टमा खबर छ ।