एसियन हाइवे : काँकडभिट्टादेखि लौकहीसम्मको निर्माण कार्य सुस्त, नौ महिनामा ७ प्रतिशत मात्र
पूर्व–पश्चिम राजमार्गअन्तर्गत काँकडभिट्टादेखि लौकहीसम्म सडक विस्तारको काम नौ महिनामा सात प्रतिशत भएको छ । काँकडभिट्टादेखि इटहरीसम्म ९५.७६ किलोमिटर सडकलाई चौडा गर्दै चार लेन बनाउने योजनाअनुसार सडक विस्तारको काम पहिलो वर्षको नौ महिनामा सात प्रतिशत मात्र भएको हो ।
१९ अक्टोबर ०२३ मा ठेक्का लागे पनि काम भने फेब्रुअरी ०२४ बाट सुरु भएको थियो । जसमा ६ वटा पुलसँगै सडक विस्तार गर्नुपर्नेछ । यो सडकलाई विभिन्न खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । सडक विस्तारका लागि पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई खण्डको कार्यालयसमेत सञ्चालन गरिएको छ । पूर्वी खण्डमा काँकडभिट्टादेखि केर्खासम्मको ४५ किलोमिटर पर्छ भने पश्चिम खण्डमा केर्खादेखि इटहरीसम्मको ५०.७६ किलोमिटर पर्छ । दुवै खण्डमा सडक निर्माणको काम भने करिब सात प्रतिशत मात्र भएको काँकडभिट्टा–लौकही सडक योजनाले जनाएको छ ।
दुई खण्डमा ठूला नदीमा ६ वटा पुल निर्माण गर्नुपर्ने आयोजनाले जनाएको छ । पूर्वी खण्डमा निन्दा, बिरिङ र कन्काई पुल छ । पश्चिम खण्डमा रतुवा, बक्राह र लोहेन्द्र पुल पर्छ । पूर्वी खण्डको पुलको काम भने सुस्त गतिमा छ । पूर्वी खण्डको तीनवटा पुल निर्माणको काम चार प्रतिशत मात्र भएको काँकडभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड)का प्रमुख सुनीलबाबु पन्तले जानकारी दिए । पश्चिम खण्डका तीनवटा पुलको काम करिब साढे सात प्रतिशत भएको काँकडभिट्टा–लौकही सडक योजना (पश्चिम खण्ड)का प्रमुख जगत प्रजापतिले बताए ।
बंगलादेशको ढाका हुँदै नेपालको पूर्वी नाका काँकडभिट्टामा जोडिने एसियन राजमार्गसँग जोडिएको नेपालको पूर्व–पश्चिम राजमार्गलाई सहरी क्षेत्रमा सर्भिस लेन र फुटपाथ गरी ६ लेन र अन्य क्षेत्रमा चार लेन बनाउने गरी सडक स्तरोन्नति भइरहेको छ । जसअन्तर्गत काँकडभिट्टादेखि केर्खासम्मको ४५ किलोमिटर सडक दश अर्ब ६ करोडमा एभरासकोन–कालिका जेभीले ठेक्का लिएको छ । उसले सडकमा पर्ने साना खोलामा पुलसमेत निर्माण गर्नेछ । यस्तै, पूर्वी खण्डमा पर्ने कन्काई, निन्दा र बिरिङ नदीको पुल निर्माणका लागि कोभेक–सिआरइजिसी–टुन्डी जेभीले पाँच अर्ब ९७ करोडमा ठेक्का लिएको छ ।
केर्खादेखि पश्चिम मोरङको गोठगाउँसम्मको ४० किलोमिटर सडक सिआरएफजी–टुन्डी जेभीले नौ अर्ब १३ करोडमा ठेक्का लिएको छ । गोठगाउँदेखि इटहरीसम्मको १०.७६ किलोमिटर कोभेक–सिआरइजिसी–टुन्डी जेभीले चार अर्ब सात करोडमा निर्माणका लागि ठेक्का लिएको छ । पश्चिम खण्डमा पर्ने ठूला नदी रतुवा, बक्राह र लोहेन्द्र पुल निर्माणका लागि कोभेक–सिआरइजिसी–टुन्डी जेभीले पाँच अर्ब ६५ करोडमा ठेक्का लिएको काँकडभिट्टा–लौकही सडक योजना कार्यालयले जनाएको छ । यी सबै ठेक्का १९ अक्टोबर ०२३ मा लागेको छ । सबै ठेक्काको काम तीन वर्षभित्र सक्नुपर्ने आयोजनाले जनाएको छ ।
सडक विस्तारका लागि दुवै खण्डमा सडकमा पर्ने सबै रुख हटाइएको आयोजनाले जनाएको छ । अहिले सडकमा पर्ने सहरमा कति घर भत्काउने भन्ने तथ्यांक संकलनको काम भइरहेको छ । ‘रुख सबै हटाइसकेका छौँ । बिजुलीको पोल हटाउने काम पनि धमाधम भइरहेको छ । यो काम २५ प्रतिशत सकिएको छ,’ पूर्वी खण्ड प्रमुख पन्तले भने, ‘सहरमा कति घर भत्कन्छ भन्ने तथ्यांक संकलनको काम भइरहेको छ । पुरानो रिपोर्ट त छ, तर त्यसमा केही परिवर्तन हुन सक्छ । त्यसैले फेरि रिपोर्ट बनाउँदै छौँ । घर भत्काउनुपरेमा मूल्यांकन गरेर क्षतिपूर्ति दिन्छौँ ।’
नौ महिनामा सात प्रतिशत काम हुनु सन्तोषजनक नै भएको पन्तको दाबी छ । ‘नौ महिनाको समय हेर्दा काम थोरै लाग्छ । तर, अरू आयोजनाभन्दा काम भएको छ । पहिलो वर्षमा रुख र बिजुलीको पोल हटाउँदै साइड क्लियरेन्समा समय लाग्छ,’ उनले भने, ‘असारसम्मा एडिबी र सरकारले दिएको करिब ६५ करोडमध्ये ६२ करोड बजेट खर्च भएको छ । काम सुरु भएलगत्तै बर्खा लाग्यो । त्यसपछि चाडबाड । अब छठपछि लगातार काम गर्ने निर्माण कम्पनीको प्रतिबद्धता छ ।’ नयाँ पत्रिकाबाट