साइबर ठगी धन्दा बढ्दो : १९ देखि ३० वर्षका युवाहरू ठगीमा
झापा । नेपालमा साइबर प्रविधिमा आधारित ठगी बढ्न थालेको छ । जसमा साइबर युगका पिंढी भनेर चिनिने १९ वर्षदेखि ३० वर्षका युवाहरू बढी प्रभावित भएका छन् । नेपाल राष्ट्र बैंकले तयार गरेको साइबर प्रविधिमा आधारित ठगी (साइबर इनेबल्ड फ्रड) सम्बन्धी प्रतिवेदनमा युवाहरू भर्चुअल रूपमा बनेका विदेशी साथीको साइबर अपराधमा फसेको उल्लेख छ ।
नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी एकाइ –एफआईयू)ले तयार गरेको सन् २०२४ को पहिलो पाँच महिनामा कुल शंकास्पद कारोबारसम्बन्धी रिपोर्टको १५ प्रतिशत साइबर ठगीसँग सम्बन्धित रहेको उल्लेख छ ।
साइबर ठगीसँग सम्बन्धित कुल पीडितहरूको ७० प्रतिशत उमेर १९ देखि ३० वर्षको रहेको प्रतिवेदनमा उल्लेख छ । पीडितमध्ये पनि अधिकांश विद्यार्थी रहेका छन् । साइबर ठगीमा परेका अन्य ३० प्रतिशत पीडित कर्मचारी, किसान र साना व्यवसायी रहेका छन् ।
फेसबुक मेसेन्जर, ह्वाट्सएप, टिकटक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमा विदेशी अनुहार वा केटीलाई साथी बनाउँदा ठगीमा परेका पाइएको छ ।
युवाहरू खासगरी सामाजिक सञ्जालमा साथी बनेका व्यक्तिलाई रकम पठाउन खाता खोलेको तीन महिनामै ठगिने गरेका पाइएको छ । प्रतिवेदन अनुसार सन् २०२० को जनवरीदेखि २०२४ को मेसम्मको अवधिमा १ हजार ५ सय ६९ वटा साइबर ठगीसम्बन्धी उजुरी परेका छन् ।
राष्ट्र बैंकले ४ सय ११ वटा रिपोर्टको विश्लेषण गरेको जनाइएको छ । सन् २०२४ को पहिलो पाँच महिनामा प्राप्त कुल रिपोर्टमध्ये १५ प्रतिशत ठगीसँग सम्बन्धित थिए । त्यसमध्ये ६३ प्रतिशतभन्दा बढी साइबर ठगीसम्बन्धी थिए ।
साइबर प्रविधिमा आधारित ठगीका लागि मुख्य रूपमा उपहार तथा तथा पार्सल ठगी, सामाजिक सञ्जालका माध्यमबाट हुने ठगी, अनलाइन व्यापारसम्बन्धी झुटा प्लेटफर्म, ओटीपी फ्रड, लट्री फ्रडलगायतका तरिकाको प्रयोग भएको पाइएको प्रतिवेदनमा उल्लेख छ ।
साइबर ठगीसँग सम्बन्धित गतिविधिकोे नेपाल प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा परेको उजुरीका आधारमा रहेको बताइएको छ । यसैगरी, वाणिज्य बैंकहरू र विकास बैंकहरूले दिएको उजुरीलाई पनि आधार मानिएको थियो ।
साइबर ठगीसँग जोडिएका झन्डै ५० प्रतिशत खाता खोलेको तीन महिनाभित्र रिपोर्ट गरिएका घटनाहरू थिए । साइबर ठगीका लागि प्रभावित प्रदेशहरूमा बाग्मती, मधेस र कोशी प्रदेश रहेका छन् । साइबर ठगीमा प्रयोग गरिएका प्रमुख टाइपोलोजीहरू उपहार÷पार्सल आइफोन ठगी, नक्कली अनलाइन व्यापार प्लेटफर्म प्रयोग गरेर जालसाजी, लटरी जालसाजी रहेका छन् ।
यसैगरी, क्रिप्टोकरेन्सीमा लगानी, नेटवर्क मार्केटिङ, अनलाइन कोठा भाडा सेवा, पीटीई र आइलेट्सका लागि अनलाइन परीक्षा शुल्क पनि साइबर ठगीमा परेका विषय रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
प्रतिवेदनमा भनिएको छ, ‘ठगहरूले पीडितहरूलाई सुरुमा सामाजिक सञ्जालमार्फत सम्पर्क गर्छन् र त्यसपछि ठगीको षड्यन्त्र विकसित हुँदा अन्य माध्यमहरू प्रयोग गर्छन्, पीडितहरूलाई सम्पर्क गर्न मिडियाको प्रयोग र ठगी गर्ने प्रविधिहरू निरन्तर विकसित भइरहेका छन् ।’
शंकास्पद पीडितहरूबाट संकलन गरिएको ठगी रकम तुरुन्तै नेपालभित्र र भारतका विभिन्न भागबाट एटीएम प्रयोग गरेर निकालिने गरेको पाइएको छ । यसैगरी, अन्य बैंक खाताहरू र वालेट खाताहरूमा स्थानान्तरण गरिने गरेको पनि पाइएको छ । आजको राजधानी दैनिकमा खबर छ