चार महिनामा विदेशबाट फर्किए ४७७ बन्द बाकसमा
विप्रेषणकै भरमा अर्थव्यवस्था टिकिरहेको अवस्थामा त्यसको पीडादायी पाटो बेग्लै छ। वैदेशिक रोजगारीमा गएका धेरै नेपाली मृत्युवरण भएर बन्द बाकसमा फर्किने गरेका छन्। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा ४७७ युवाले ज्यान गुमाएका छन्। यो सङ्ख्या चार महिनाको अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम लिनेको हो।
यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेको सङ्ख्या अझै धेरै छ। बोर्डका अनुसार यो अवधिमा बोर्डको कल्याणकारी कोषको १८ करोड १५ लाख रुपैयाँ मृतक श्रमिकका परिवारका सदस्यले आर्थिक सहायता लिएका छन्।
पर्याप्त तालिम, सिप र सुरक्षाको ग्यारेन्टीबिनै वैदेशिक रोजगारीमा पठाउँदा ठुलो सङ्ख्यामा नेपाली श्रमिकको मृत्यु हुने गरेको हो। तथ्याङ्क अनुसार दैनिक औसतमा चार शव काठको बन्द बाकस विदेशबाट नेपालको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा आइपुग्छन्।
बोर्डले श्रम स्वीकृति लिएर गएका नेपाली श्रमिकको मृत्यु भएमा यसअघि सात लाख रुपैयाँ आर्थिक सहायता दिँदै आएकोमा हाल वृद्धि गरेर १० लाख पुर्याएको छ। यसैगरी यो अवधिमा रोजगारीका क्रममा विदेशमा विभिन्न कारणले अङ्गभङ्ग भएका १७४ श्रमिकले पाँच करोड ६३ लाख रुपैयाँ आर्थिक सहायता पाएको बोर्डले जनाएको छ।
बोर्डका अनुसार आव २०६५/६६ साउनदेखि चालु आवको कात्तिकसम्म १३ हजार ८२३ जनाले ज्यान गुमाएका छन्। यो अवधिमा साउदी अरब, कतार र मलेसियामा सबैभन्दा बढी नेपालीको ज्यान गुमाएका छन्। आजको गोरखापत्र दैनिकमा समाचार छ ।