२०८३ बैशाख ३ गते , विहीबार

मानव तस्करको नयाँ ट्रान्जिट हव बन्दै ‘दुबई’

sajilo news
पत्रपत्रिका
२०८१ पौष ५ गते , शुक्रबार
मानव तस्करको नयाँ ट्रान्जिट हव बन्दै ‘दुबई’

काठमाडौं । रुकुमपूर्वका ओली थरका एक युवक अमेरिका जाने चक्करमा ९ महिना दुवई बसेर फर्किए। एक महिनामै अमेरिका पुगिन्छ भन्दै चिनेजानेकै आफन्तले उनलाई अमेरिका जाने प्रलोभन दिएका थिए। एजेन्टको खातामा ५ लाख जम्मा गरेर अमेरिका जान भन्दै उनले नेपाल छाडे। एजेन्टले उनलाई ९ महिनासम्म दुबईको एक होटलमा बन्धक जस्तै बनाएर राखे। बाहिर निस्किए दुवईमा पुलिसले समाउँछ भन्दै उनलाई होटलकै कोठामा थुनियो। उनीजस्तै १५–२० जनाको समूह होटलमै थियो। कम सुविधाको होटलमा दुःखसँग ९ महिना बिताउँदा उनले एजेन्टलाई ४६ लाख बुझाइसकेका थिए। पटक–पटक पैसा बुझाउँदा पनि तस्करले उनलाई अमेरिका उडाउन सकेनन्। ९ महिनापछि उनका आफन्त, एजेन्ट सम्पर्कविहीन भए। केही दिन अगाडि मात्रै उनी नेपाल फर्किएर वैदेशिक रोजगार विभागमा उजूरी दिएका छन्। 

पूर्वीरुकुम घर भएका निराजन नेपाली केहीदिन अघि दुबईबाट पक्राउ परे। उनीविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो। मानव बेचबिखन तथा संगठित अपराधमा संलग्न भएको भन्दै उनीविरुद्ध नेपाल प्रहरीको मानव बेचबिखन व्युरोमा उजुरी परेको थियो। निराजनले तल्लो बाटो हुँदै अमेरिका पुर्‍याउने भन्दै एक व्यक्तिलाई दुबई पुर्‍याएर बन्धक बनाएका थिए। 

उनीसहित अन्य टिम मिलेर कर्णाली प्रदेशका ति पीडित व्यक्तिलाई दुवई पुर्‍याएर १४ लाख ८० हजार रकम असुल गरी बन्धक बनाएका थिए। नेपालीले पीडितलाई अमेरिका लैजान नसकेपछि थप पैसा माग्ने र दुबईमा नै राख्ने गरेका थिए। 

निराजनले पीडित युवालाई आफूले धेरै व्यक्तिलाई अमेरिका पुर्‍याइसकेको भन्दै प्रलोभन दिएका थिए। अमेरिका पुग्नासाथ मासिक ६ लाख कमाइ हुन्छ भन्दै ठगी गरेका थिए। दुवइ पुर्‍याएका ति पीडित युवाको पासपोर्ट, मोवाइल तथा अन्य कागजात जफत गरी होटलमा बन्धक बनाएका थिए। 

फ्रि टिकट र फ्रि भिसामा दुवई लैजाने भन्दै प्रलोभन दिएर कुवेत पुर्‍याएर यौन कार्यमा लगाएको आरोपमा केही दिनअघि २ जना पक्राउ परेका छन्। उदयपुरका ५७ वर्षीय चन्द्रबहादुर आले र मोरङ वेलबारीका ५१ वर्षीय पुष्प सुनारले सिन्धुपाल्चोककी एक महिलालाई दुवई पुर्‍याएर बिक्री गरेका थिए। पुष्प सुनारविरुद्ध दुईवटा जाहेरी दर्ता भएको छ भने आलेविरुद्ध एउटा जाहेरी दर्ता भएको छ। दुबईबाट महिला एजेन्टको सहयोगमा उनीहरूले ति पीडित महिलालाई कुवेतको अलजारा भन्ने ठाउँमा पुर्‍याइ कुवेती घर मालिकलाई बेचबिखन गरेका थिए। कुवेती घरमालिक कहाँ काम गर्ने क्रममा उनले चरम श्रम शोषण र यौन शोषण गरेका थिए। यस विषयमा पीडितहरूले घरमालिकसँग कुरा गर्दा उनीहरूलाई नेपाली ३ लाख रुपैयाँमा किनेको बताएका थिए। 

अर्की एक महिलालाई दुवई हुँदै कुवेत पुर्‍याएर बेचबिखन गर्ने सिन्धुपाल्चोकका धर्म तामाङ र टिकाराम तामाङ पनि पक्राउ परेका छन्। उनीहरूले पनि ति महिलालाई कुवेत पुर्‍याएर ९०० केडीमा कुवेती नागरिकलाई बेचबिखन गरेका थिए। 

यी त केही उदाहरण मात्रै हुन्। पछिल्लो समय वैदेशिक रोजगारीको बहानामा तस्करहरूले नेपालीहरूलाई दुबईमा पुर्‍याएर दुःख दिने गरेका छन्। अमेरिका लैजान होस् या जापान पठाउन होस् या अन्य युरोपका देश नै पठाउन किन नहोस् उनीहरूले नेपालीहरूलाई दुबईमा पुर्‍याएर ठगी गर्छन्। मलेसिया, कुवेत, साउदी, कतार होस या खाडीका अन्य मुलुक पठाउन नै किन नहोस् विभिन्न बहानामा दुवई पुर्‍याएर बन्धक बनाउने गिरोह सक्रिय भएको छ। प्रलोभन दिएर दुबई पुर्‍याएका सयौं व्यक्ति फिर्ता भइसकेका छन्। कोही दुबईमा नै फसिरहेका छन्। कतिपय व्यक्तिलाई अध्यागमन कार्यालयले प्रस्थान अनुमति नदिँदा काठमाडौं विमानस्थलबाटै फिर्ता पनि पठाइन्छ। 

दुबईमा नै किन ? 

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार पछिल्लो समय तस्करहरूले दुबईलाई ट्रान्जिट हव बनाएको देखिन्छ। अन्य देशको तुलनामा दुबईको भिजिट भिसा प्रक्रिया केही सजिलो छ। कामको शिलशिलामा दुबई पुगेका नेपालीहरूले नै भिसा निकालेर पठाउने हुँदा यताबाट जान पनि सजिलो छ। आचार्य अगाडि भन्छन्, ‘विदेश जान खोज्ने व्यक्तिलाई पनि सकभर जे गरेर भए पनि घरबाट हिँडिहाल्न हतार हुन्छ। विदेश भनेपछि कुदिहाल्छन्। काम के हो, डिटेल बुझेका हुँदैनन्। यसले गर्दा बेचबिखनमा पर्ने संभावना बढी छ। अमेरिकालगायत युरोप जानेहरू पनि नेपालमा बसेर प्रयास गर्नुभन्दा घर छाडेर विदेशबाटै बाँकी प्रक्रिया सुरु गर्न चाहन्छन्। सबैतिरबाट ठगी भए पनि पैसा गुमाएपछि मात्रै प्रहरीकहाँ आउने प्रचलन छ।’ 

उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी शिवराज बुढाथोकी विदेश जाने योजना बनाउँदा नै धेरै चनाखो हुनुपर्ने बताउँछन्। कहाँ कोसँग जाने ? के काम गर्ने ? उक्त देशमा के कस्तो श्रम कानुन छ ? भिजिट भिसामा गएर काम गर्न पाइन्छ पाइँदैन ? सबै जानकारी लिएर मात्रै प्रक्रिया सुरु गर्दा ठगी हुनबाट रोक्न सकिन्छ। 

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता भावेस रिमालका अनुसार मानव बेचबिखन गर्ने तस्करले दुबई पुर्‍याएर दुःख दिने गरेको बताए। उनी भन्छन्, ‘पछिल्लो समय मानव बेचबिखनको टे«न्ड फेरिएको छ। पहिले सिधै मानव बेचबिखन हुन्थ्यो भने अहिले वैदेशिक रोजगार र आकर्षक तलवको बहानामा मानव तस्करी हुने गरेको छ। पुरुष हुन् या महिला दुवै नै तस्करीको फन्दामा पर्ने गरेका घटना सार्वजनिक भइरहेका छन्।’

५ महिनामा ९९९ वटा पक्राउ पुर्जी 

उपत्यका अपराध अनुसन्धान कार्यालयमा यो आव सुरु भएपछि ८१ साउनदेखि मंसिरसम्ममा मात्रै १६५ उजुरी प्रहरीमा परेका छन्। ११६ जना पक्राउ परेका छन्। वैदेशिक रोजगार विभागमा ठगीको उजूरी दिएकामध्ये ९९९ जना आरोपी रहेका छन्। विभागबाट पक्राउ गरिदिनका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयमा पक्राउ पुर्जी आउने गर्छ। जसमध्ये ९९९ वटा पक्राउ पुर्जी अनुसन्धान कार्यालयमा पुगेको छ। विभागबाट पठाएका पक्राउ पुर्जीमध्ये प्रहरीले ११६ जनालाई मात्रै पक्राउ गरेको छ। बाँकीको खोजीकार्य भइरहेको जानकारी एसपी आचार्यले दिए। विभागको पक्राउ पुर्जीअनुसार पक्राउ परेकामध्ये ७७ जना पुरुष र ३९ जना महिला छन्। वैदेशिक रोजगार विभागमा १०९५ वटा मुद्दा फछ्र्यौट हुन बाँकी छ। 

विशेषगरी पोर्चुगल, पोल्यान्ड, सर्भिया, क्यानडा, माल्दिभ्स, न्युजिल्यान्ड, अस्ट्रेलिया, जापान, अमेरिका, क्रोएशिया, कम्बोडिया, टर्की, अल्बानिया, रसिया, अजरबैजान, दुबई, कतार, मलेसिया, ओमन र साउदीलगायतका देशमा जान खोज्ने व्यक्तिहरू तस्करको निशानामा पर्ने गरेका छन्। आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

सम्बन्धित समाचार