२०८३ बैशाख ५ गते , शनिबार

थप पीडामा चन्द्रदेवी : न्याय खोज्दा ज्यान मार्ने धम्की

sajilo news
पत्रपत्रिका
२०८१ पौष ५ गते , शुक्रबार
थप पीडामा चन्द्रदेवी : न्याय खोज्दा ज्यान मार्ने धम्की

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका १ कविलासा गाउँकी ५५ वर्षिया चन्द्रदेवी साहले छोरीको हत्या र छोरा वेपत्ता पार्नेहरुमाथी कारवाहीको माग गर्दा विपक्षि आरोपीका आफन्तबाट ज्यान मार्ने धम्की आउन थालेको दुखेसो पोखेकी छिन् ।

गाउँमा बस्न असुरक्षित भएको भन्दै बिहीबार सदरमुकाम राजविराज आइपुगेकी उनले पत्रकार सम्मेलनको आयोजना गरि गाउँमा सुरक्षित साथ बस्ने वातावरणका लागि पहल गरिदिन सबैसँग सहयोगको याचना गरेकी छिन् ।

उनी तीन वर्षअघि हत्या भएको १९ वर्षिया सन्तोषी र सोही समयदेखी वेपत्ता भएका १७ वर्षिय आशिषका आमा हुन् । तीन वर्ष पुरानो घटनाका आरोपी मध्येका एक सोही वडाका धिरेन्द्र कुमार साहलाई १३ दिनअघि प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ परेका साह यही मंसिर १६ गते सम्पन्न उपनिर्वाचनमा जसपा नेपालबाट उम्मेदवार भई वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

पदभार ग्रहण गर्न नपाउँदै गत मंसिर २१ गते पक्राउ परेका थिए । साहलाई सप्तरी जिल्ला अदालतबाट १०–१० दिन गरि दुई पल्ट म्याद थप गरि अनुसन्धान भइरहेको भनाई छ । साहमाथी अपहरण तथा शरीरबन्धक, जबरजस्तीकरणी, कर्तव्य ज्यान लगायतका मुद्दामा अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाको भनाई छ ।

पत्रकार सम्मेलनमा भक्कानो छाड्दै चन्द्रदेवीले भनिन्–पक्राउ परेका साह र अन्य फरार प्रतिवादीका आफन्तबाट दिनहुँ जसो मुद्दा फिर्ता नलिए ज्यानै लिने धम्की आउन थालेको छ । प्रतिवादीा आफन्तहरु खेतमा, बजारमा र घरमा जहाँ पनि पुगेर मुद्दा फिर्ता नलिए, “तेरो अवस्था पनि छोरी सन्तोषी र छोरा आशिष जस्तै पारिदिन्छु” भन्दै धम्क्याउन थालेको उनले सुनाइन् ।

यस बारेमा इलाका प्रहरी कार्यालय कल्याणपुरमा पनि बिहीबार नै पुगेर प्रहरी अधिकारीहरुलाई जानकारी गराएको उनले बताइन् । कतैबाट सहयोग नपाए आफू गाउँ छोड्न बाध्य हुने उनको कथन छ ।

२०७९ साल साउन १७ गते भएको सन्तोषीको अपहरण तथा शरीर बन्धक, जबरजस्तीकरणी, कर्तव्य ज्यान लगायतका अपराध गरेको साहसहित अन्य केही व्यक्ति माथी आरोप छ । अन्य आरोपीहरुको खोजिकार्य भइरहेको प्रहरीको भनाई छ । आजको राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित समाचार