२०८३ बैशाख ४ गते , शुक्रबार

नेपाल हृदयरोग निवारण प्रतिष्ठानको केन्द्रीय सभा पुस १३ र १४ गते बिर्तामोडमा हुने

sajilo news
झापा
२०८१ पौष ११ गते , विहीबार
नेपाल हृदयरोग निवारण प्रतिष्ठानको केन्द्रीय सभा पुस १३ र १४ गते बिर्तामोडमा हुने

नेपाल हृदयरोग निवारण प्रतिष्ठान (हार्ट फाउन्डेसनं) को केन्द्रीय सभा झापाको बिर्तामोडमा हुने भएको छ ।  बिर्तामोडस्थित अग्रसेन भवनमा पुस १३ र १४ गते प्रतिष्ठानको ३३ औँ केन्द्रीय सभा हुन लागेको आयोजक संस्थाले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । 

केन्द्रले मुटु रोग सम्बन्धी सचेतना जगाउने र यसको उपचारको लागि वकालत गर्दै आएको निवर्तमान अध्यक्ष बलराम न्यौपानेले जानकारी दिए । केन्द्र र यसका गतिविधिको प्रचारका लागि मोफसलमा केन्द्रीय सभा गर्न थालिएको र अघिल्लो वर्ष काभ्रेपलान्चोकको बनेपामा गरिएको पूर्वअध्यक्ष डिल्लीराम घिमिरेले बताए ।

डा। मेगेन्द्रराज पाण्डेको अगुवाइमा २०४५ सालमा स्थापना भएको केन्द्रले ५९ जिल्लामा शाखा र बाँकी अन्य जिल्लाहरूमा तदर्थ समिति विस्तार गरी ७७ वटै जिल्लाबाट कार्य गर्दै आएको पूर्वअध्यक्ष घिमिरेले जानकारी दिए ।

केन्द्रले मुटुका बिरामीहरूको उपचारका लागि आर्थिक सहयोग गर्नुका साथै शहिद गङ्गालाल हृदय रोग केन्द्र र अन्य सहयोगी संस्थाहरूसँग समन्वय गरिदिने गरेको पनि घिमिरेले बताए । केन्द्रमा स्थापित कोषको रकमबाट उत्कृष्ट कार्य सम्पादन गर्ने शाखाहरूलाई पुरस्कृत गर्दै आएको निवर्तमान अध्यक्ष न्यौपानेले जानकारी दिए । गत वर्ष झापाको कनकाई नगरपालिकाले नगर क्षेत्रभित्र सुर्तीजन्य पदार्थ बिक्री वितरण र सेवनमा रोक लगाएको कारण पालिकालाई सम्मानसमेत गरेको थियो ।

कार्यक्रमको अवधिमा स्वयम् सेविकाहरूलाई प्राविधिक तालिम दिनुका साथै बिएण्डसी अस्पतालबाट प्रभात फेरी निकाल्ने आदि कार्यक्रम रहेको केन्द्रका झापा अध्यक्ष सन्तोष अग्रवालले जानकारी दिए । कार्यक्रमको पुस १३ गते शनिवार दिउँसो साढे तीन बजे केन्द्रका केन्द्रीय अध्यक्ष डा। सत्यनारायण सुवालले उद्घाटन गर्ने झापा शाखाका सहसचिव राम निरौलाले बताए ।

कार्यक्रममा सहभागीहरूलाई झापाका पूर्व अध्यक्ष कुमारमणि पोखरेलले स्वागत गरेका थिए भने  झापा अध्यक्ष सन्तोष अग्रवालले केन्द्रीय सभामा हुने कार्यक्रमका विषयमा जानकारी गराएका थिए । पत्रकार सम्मेलनमा हार्ट टेक्नियसयन अंशुकाराज उपाध्यायको समेत उपस्थिति रहेको थियो । 

सम्बन्धित समाचार