मेची क्याम्पस भद्रपुरको छात्रावास सञ्चालन
भद्रपुर । यहाँस्थित मेची बहुमुखी क्याम्पसको छात्रावास सञ्चालनमा आएको छ । यही पूस १० गतेदेखि पहिलो चरणमा ६ जना छात्रा सो छात्रावासमा बस्न थालेका हुन् ।
क्याम्पसको महिला छात्रावास व्यवस्थापन समितिका अध्यक्ष एवम् विद्यार्थी कल्याण प्रमुख उप–प्रा. डम्बर रेग्मीका अनुसार, समितिले छात्रावासमा बस्न चाहने विद्यार्थीहरूबाट आवेदन आह्वान गरेपछि २८ जनाले आवेदन दिएका थिए । त्यसमध्येका आवेदकहरू सम्पर्कमा रहेकाले अब क्रमशः अन्य छात्राहरू पनि बस्न थाल्ने उनले बताए ।
करीब २ वर्ष अघि नवनिर्मित २ तले छात्रावास ४२ जना विद्यार्थी बस्न सक्ने क्षमताको रहेको बताएका अध्यक्ष रेग्मीका अनुसार, एउटा कोठामा २ जनाका लागि २ वटा लो–बेड, २ वटा कुर्सी, २ वटा लकर सहितको दराज–कम–स्टडी टेबल तथा विद्युत, इन्टरनेट (वाई–फाई) र पानीको सुविधा छ । छात्रावासका लागि प्रत्येक विद्यार्थीले प्रवेश शुल्क ३ सय तिर्नु पर्छ भने धरौटीस्वरुप ५ हजार रुपैयाँ बुझाउनु पर्छ । प्रति विद्यार्थी मासिक १ हजार रुपैयाँ शुल्क तय गरिएको कोठामा पर्दा र डस्टविन पनि उपलब्ध गराइएको छ । छात्रावासको गेटमा गार्डको व्यवस्था गरिएको छ ।
होस्टलमा बस्ने विद्यार्थीले हाल आफैं खाना पकाएर खाने गर्दैछन् । केही समय अघि मेस सञ्चालनका लागि गरिएको आह्वानपछि प्रति छाक सादा खानाको मूल्य ९० रुपैयाँभन्दा कम गर्न नसकिने कुरा स्थानीय होटल व्यवसायीबाट आएको क्याम्पसका सामान्य प्रशासन प्रमुख हेम प्रसाईंले बताए । सो छलफलपछि विद्यार्थीले आफूहरूलाई महंगो पर्न जाने बताएका थिए भने विद्यार्थीको संख्या ४० जनाभन्दा कम भएको अवस्थामा आफूहरूलाई नपोसाउने व्यवसायीहरूले बताएको पनि उनले जानकारी दिए ।
छात्रावास भवनको माथ्लो तला र तल्लो तलामा गरी २ वटा ठूला रिडिङ रूम, भूइँ तलामा २ वटा किचन र एउटा डाइनिङ रूम, माथ्लो र तल्लो तलामा ३/३ वटा बाथरूम र ३/३ वटै शौचालय, लुगा धुने धारा सहितको छुट्टै पटांगिनी रहेको छ । क्याम्पस–प्रमुख जीवन पोखरेलबाट प्राप्त जानकारी अनुसार, नेपाल सरकारले त्रिभुवन विश्वविद्यालयको युनिभर्सिटी ग्रान्ट कमिसन (यूजीसी) मार्फत उपलब्ध गराएको बजेटबाट छात्रावास भवन निर्माण भएको हो । छात्रावास भवनको निर्माण लागत ३ करोड ७७ लाख रुपैयाँभन्दा केही बढी रहेको छ ।
क्याम्पस परिसरकै उत्तर तर्फ भने मरम्मत–सम्भारविहीन अवस्थामा छात्रहरूको आवास छ । जीर्ण हालतमा पुगिसकेको ६ कोठे सो १ तले भवनमा पनि केही विद्यार्थी बस्दै आएको उनले बताए । स्मरणीय के छ भने, यस अघिका क्याम्पस–प्रमुख कमल गुरागाईंले केही प्राध्यापकको समेत सहयोग लिएर आफ्नै कार्यकालमा गरेको निरन्तर पहलपछि तत्कालीन अर्थमन्त्री डा.युवराज खतिवडाले छात्रावास भवन निर्माणका लागि बजेट निकासा गरिदिएका थिए ।
सरकारी अनुदानमा निर्मित छात्रावासको क्षमता अनुसार क्याम्पस प्रशासनले विद्यार्थीहरूलाई यथाशक्य सहुलियत दरमा कोठा उपलब्ध गराउन आवश्यक रहेको अभिभावक वर्गको प्रतिक्रिया पाइएको छ । क्याम्पसले विद्यार्थीहरूलाई कोठा भाडामा लगाएर नाफा कमाउने सोच नराखी सो भवनको व्यवस्थापन गर्नसम्म पुग्नेगरी शुल्क तय गरिनु उपयुक्त हुने विद्यार्थी नेताहरूले पनि बताएका छन् । अधिकतम सहुलियत दर निर्धारण गर्ने बित्तिकै विद्यार्थीहरू छात्रावासमा बस्न आकर्षित हुने र सबै कोठाहरू भाडामा लागेपछि मेस सञ्चालन गर्न समेत सहज भई विद्यार्थीहरू लाभान्वित बन्ने छन् । मूलतः अधिकतम विद्यार्थीहरूले छात्रावास भवनको उपयोग गरुन् भन्ने तर्फ क्याम्पस प्रशासनको ध्यान जान र पहल गर्न नितान्त जरुरी छ । साप्ताहिक समाचारबाट