मानव धर्म सेवा समितिद्वारा निःशुल्क स्वास्थ्य शिविर
मेचीनगर । नेपाल मानव धर्म सेवा समितिले मेचीनगर-२ स्थित बौद्धमोडमा निःशुल्क बृहत् स्वास्थ्य शिविर सम्पन्न गरेको छ। आराध्या माताजीको जन्मोत्सवको पावन अवसर पारेर नेपाल मानव धर्म सेवा समितिले सामाजिक उत्तरदायित्व अन्तरगत एकदिने निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको हो ।
नेपाल मानव धर्म सेवा समितिका सुवर्ण बाइजी सन्त महात्माको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन मेचीनगर २ का वडाध्यक्ष दीपक बरालले गरेका थिए । प्रमुख अतिथि वडाध्यक्ष बरालले मानिसको स्वास्थ्य संवेदनशीलतालाई बुझेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नु राम्रो कार्य रहेको बताए । मानिस स्वास्थ्यबाट वञ्चित हुनु हुँदैन उनले भने अप्ठ्यारोमा परेका नागरिकलाई आवश्यक साथ सहयोग गर्न वडा कार्यालय समेत तयार रहेको बताए ।
उद्घाटन सत्रको कार्यक्रममा अग्रज तथा ज्येष्ठ समाजसेवी ज्ञानबहादुर तामाङ, समाजसेवीहरू गोपी रिजाल, यज्ञप्रसाद भण्डारी, छविलाल काफ्ले, नगेन्द्रप्रसाद रिजाल, तुलसी ढुङ्गाना, पुष्प गुरागाईँ, कुमार ढुङ्गाना, शिक्षासेवी दिनेश खड्कालगायतको आतिथ्य रहेको थियो । नेपाल मानव धर्म सेवा समिति मेची क्षेत्र श्रद्धेय आश्रम मेचीनगरका सञ्चालक समिति सदस्य सचिन निरौलाले स्वागत गरेको कार्यक्रम सञ्चालन सचिव कमल पौडेलले गरेका थिए ।
अस्पतालसम्म पहुँच नपुगेका बिरामीहरूमा स्वास्थ्य उपचार सेवाका लागि ओमसाई पाथीभरा हस्पिटल एन्ड रिसर्च सेन्टर, भद्रपुरका विशेषज्ञ चिकित्सकहरूबाट स्वास्थ्य परीक्षण गरिएको छ। त्यस्तै मेची नेत्रालय काँकडभिट्टाका नेत्र विशेषज्ञबाट आँखा जाँच गरिएको थियो ।
बौद्धमोड इङ्लिस बोर्डिङ स्कुल परिसरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा वरिष्ठ बाल रोग विशेषज्ञ डा. सुभाष बस्नेत, वरिष्ठ फिजिसियन डा. डालिम काफ्ले, वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. एलिजा गौतम, वरिष्ठ नेत्र विशेषज्ञ डा. योगेन्द्र राउतलगायतका चिकित्सकले सेवा दिएका थिए । शिविरमा फिजिसियन तर्फ ३५७, गाइनो तर्फ ४३ र बाल रोग तर्फ ६७ जनाले सेवा लिएका थिए । त्यस्तै ३५७ जनाले आँखा जाँच गराएका छन् । उनीहरूलाई आवश्यकता अनुसार निःशुल्क ल्याब, इसिजी, चस्मा र औषधिसमेत वितरण गरिएको आयोजकले जनाएको छ छ ।
ब्रह्माण्ड अपाङ्ग र महिला बचत तथा ऋण सहकारी संस्था र सोनाम लामासहित सोनाम औषधि केन्द्र सहयोगी संस्थाको रुपमा रहेको थियो भने, स्वास्थ्य शिविर व्यवस्थापन सहयोग बौद्धमोड इङ्लिस बोर्डिङ स्कुल परिवार र मानव धर्म सेवा समितिका स्वयंसेवकहरूले गरेका थिए ।