प्रादेशिक अस्पताल भद्रपुरका चिकित्सकले पोस्टमार्टम रिपोर्ट गलत दिएपछि...
दुर्घटनामा परी घाइते भएका श्रेष्ठको मृत्यु
झापा । प्रादेशिक अस्पताल भद्रपुरका चिकित्सकले दुर्घटनामा परी मृत्यु भएको पोस्टमार्टम रिपोर्ट नदिएको भन्दै आफन्तजनले शव बुझ्न मानेका छैनन् । बिर्तामोड नगरपालिका–८ स्थित सुकुम्वासी टोल जाने भित्री सडक खण्डमा बा ७५ प ९११५ नम्बरको मोटरसाइकलको ठक्कर शनिबार साँझ साढे ६ बजेको समयमा सोही ठाउँका ५३ वर्षीय चित्रहाङ श्रेष्ठ घाइते भएका थिए । दुर्घटना पश्चात् दुवै पक्षको सहमतिमा सामान्य उपचारपछि घाइते श्रेष्ठ घर फर्किएका थिए ।
आइतबार बिहान आफ्नै घरको कोठामा सुतिरहेको अवस्था उनी मृत फेला परेका थिए । त्यसपछि प्रहरीको समन्वयमा परिवारजनले उनको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्याएका थिए । प्रादेशिक अस्पतालका मेडिकल अफिसर डा. केवल कपुरीले मृतकको पोस्टमार्टम गरेका थिए । डा. कपुरीले गरेको पोस्टमार्टममा उनको मृत्यु दुर्घटनाबाट नभई निमोनियाकाबाट भएको रिपोर्ट दिएपछि आफन्त तथा परिवारजन आक्रोशित भएका थिए ।
डा. कपुरीले दिएको रिपोर्ट गलत भएको भन्दै आक्रोशित बनेका उनीहरूले आइतबार बेलुका ५ बजे अस्पतालको लापरबाही भएको भन्दै विरोध जनाएका थिए । दुर्घटनामा घाइते भएर मृत्यु भएका व्यक्तिलाई निमोनियाबाट मृत्यु भन्नु डा. कपुरीको लापरबाही भएको बिर्तामोड नगरपालिका– ८ नम्बर वडाध्यक्ष अजय कार्कीले आक्रोश व्यक्त गरे । पोस्टमार्टम रिपोर्ट नसच्याएसम्म शव नबुझ्ने र शव अस्पताल परिसरमै राखेर आन्दोलनमा उत्रिने उनको भनाई छ । मृतकको शव अस्पतालको जिम्मामा रहेको जनाइएको छ ।
सुरु पोस्टमार्टम गर्ने डाक्टरले पूर्णरुपमा जाँच नगरी त्यस्तो रिपोर्ट दिएको हुनसक्ने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामबाबु खड्काले बताए । विवाद उत्पन्न भएपछि पुनः शवको पोस्टमार्टम गर्न मेडिकल अफिसर डा. मनोज साहलाई पठाएको उनले बताए । भोलि बिहान दुर्घटनाबाट मृत्यु भएको रिपोर्ट प्रहरीलाई उपलब्ध गराइने उनको भनाई छ । श्रेष्ठको टाउकोमा गम्भीर चोट लागेको देखिएको छ । दुर्घटना गराउने मोटरसाइकल र मोटरसाइकल चालक बिर्तामोड–८ बस्ने २५ वर्षीय बुद्ध बस्नेतलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको जनाइएको छ ।