२०८३ बैशाख ५ गते , शनिबार

पशुपतिनाथ मन्दिरमा आज धनुर्मास पूजा गरिँदै

sajilo news
काठमाडौं
२०८१ पौष २३ गते , मंगलबार
पशुपतिनाथ मन्दिरमा आज धनुर्मास पूजा गरिँदै

पशुपतिनाथ मूल मन्दिरमा आज रातभर विधिपूर्वक धनुर्मास पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष पुस महिनामा साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा आराधना गर्ने परम्परा छ। धनुर्मास पूजा गर्नुअघि आज बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराउने कार्यक्रम रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। 

बाला चतुर्दशीदेखि चिसो लाग्ने भएकाले पशुपतिनाथलाई तातोपानीले स्नान गराउने परम्परा छ। परम्पराअनुसार आज रातिदेखि बिहानसम्म धनुर्मास पूजा गरिने कोषका प्रवक्ता कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले जानकारी दिए। धनुर्मास पूजापछि गेडागुडीबाट बनेको खिचडी पशुपतिनाथलाई खुवाइन्छ। रातभर धनुर्मास पूजा गरेपछि भोलि पशुपतिनाथलाई उपवास राख्ने गरिन्छ। 

त्यसपछि भोलि अपराह्न १२ बजेदेखि मन्दिर बन्द गरिनेछ। उपवासका दिन भोलि बिहानै महादेव शिवपुरी डाँडामा गएर तोरीको तेल लगाएर घाममा शयन गर्ने धार्मिक विश्वाससमेत रहेको छ।

बेलुकी भने शिवपुरी डाँडाबाट घाम तापेर फर्कनुहुने विश्वासमा आरती गरिन्छ। बिहीबार बिहानदेखि नियमित पूजा आराधना गर्ने कार्यक्रम रहेको कोषले जनाएको छ।

सम्बन्धित समाचार