रेडक्रस भद्रपुर उपशाखाको निर्वाचन : नयाँ सदस्यले मतदान गर्न पाउने केन्द्रीय कार्यालयको प्रस्टोक्ति
सभापतिमा पौडेल र महतको उम्मेदवारी
झापा । नेपाल रेडक्रस सोसाइटीको भद्रपुर उपशाखाको निर्वाचनमा सबै सदस्यले मतदान गर्न पाउने केन्द्रीय कार्यालयले प्रस्ट पारिदिएको छ । मतदाता नामावलीमा समाविष्ट ४७ जनाको नामावलीउपर विरोध गर्दै उजुरी परेपछि नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका महामन्त्री भूपतिलाल श्रेष्ठले पुस २२ गते सूचना प्रकाशन गरी ४७ जना नै उपशाखाको निर्वाचनका लागि मतदाता हुन योग्य रहेको प्रस्ट पारिदिएका हुन् ।
नेपाल रेडक्रस सोसाइटीको विधान २०२० (सत्रौँ संशोधन २०७५ सहित) को उपशाखा कार्यसमितिको निर्वाचन सबै सदस्यहरू सहभागी भएर हुने व्यवस्था रहेको छ । उपशाखा कार्यसमितिको निर्वाचनमा मतदाता र उम्मेदवार हुने योग्यता वा अयोग्यताका सम्बन्धमा विधानको दफा ५० को दफा (३) मा निर्वाचन हुनु भन्दा कम्तीमा विगत एक वर्षदेखि नै नेपाल रेडक्रसको साधारण, आजीवन, विशिष्ट वा यशस्कर सदस्य नभएको व्यक्ति मतदाता र उम्मेदवार हुन बन्देज रहेको र तर पहिलो पटक गठन हुने वा तदर्थ समितिबाट काम भई रहेको शाखा वा उपशाखाको निर्वाचनको हकमा कम्तीमा ३० दिन अगावै सदस्य भएमा यो बन्देज लागू हुने छैन ।

त्यस्तै नेपाल रेडक्रस निर्वाचन नियमावली, २०४९ (तेस्रो संशोधन २०७५) नियम ६ (१) (छ) मा उपशाखा कार्यसमितिको निर्वाचनको हकमा निर्वाचन हुनुभन्दा कम्तीमा विगत एक वर्षदेखि नेपाल रेडक्रसको सदस्य (साधारण, आजीवन, विशिष्ट वा यशस्कर) नभएको व्यक्ति विगत वर्षमा जुनसुकै महिनामा सदस्य भएको भए तापनि उक्त वर्षको सदस्य मानिने हुँदा विगत वर्षमा सदस्य रहेको व्यक्ति त्यसको लगत्तै यस वर्ष पनि सदस्य रहेको खण्डमा मतदाता हुन बाधा पर्ने छैन भन्ने व्यवस्था रहेको केन्द्रीय कार्यालयको पत्रमा प्रस्ट भनिएको छ ।
रेडक्रसका आजीवन सदस्य हेमकुमार घिमिरे, सुरज रेग्मी, विकास कोइराला, अमृत ढुंंगाना, सुजता सुवेदी रेग्मी, रोशन दाहाल र दीपककुमार कार्की समेतले ४७ जना नयाँ सदस्यविरुद्ध दिएको सो उजुरीका सम्बन्धमा निर्वाचन समितिको निर्णय विधानसम्मत नरहेको भन्दै घिमिरेकै नेतृत्वमा पूस १८ गते झापा जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई बोधार्थ पत्र बुझाएको थियो ।
आगामी २ वर्षे कार्यकालका लागि हुने भद्रपुर उपशाखा कार्यसमितिको सभापति पदमा योगेन्द्र पौडेल र केदार महतले उम्मेदवारी दिएका छन् । पौडेलले अघिल्लो निर्वाचनमा पनि सभापति पदमा उम्मेदवारी दिएका थिए । सभापतिमा दुई जनाको उम्मेदवारी परेपछि पौडेलले फिर्ता लिएको र गोपाल गिरी सर्वसम्मत सभापतिमा निर्वाचित भएका थिए । त्यसबेला यस पटकको निर्वाचनमा पौडेललाई सभापति बनाउने मौखिक सहमति भएको थियो । तर, वर्तमान सचिव केदार महतले पनि सभापति पदमा दाबी गरेपछि विगतमा गरेको सहमति पालना नभएको एक सदस्यले बताएका छन् । दुवै उम्मेदवार नेपाल काँग्रेस निकटका हुन् । पुस २७ गते हुने निर्वाचनका लागि मंगलबार भएको मनोनयन पत्र दर्तामा महिला उपसभापतिमा कौसल्या अधिकारीको एक्लो उम्मेदवारी परे पनि उनी निर्विरोध निर्वाचित भएकी छिन् । सचिवमा रमेश भण्डारी र गणेश गिरीले उम्मेदवारी दिएका छन् ।
कोषाध्यक्षमा माधवप्रसाद घिमिरे र दिनेशकुमार पोखरेलले उम्मेदवारी दिएका छन् । उपसचिवमा तोर्णविक्रम कार्की र प्रमीला कोइरालाले उम्मेदवारी दिएका छन् । उपकोषाध्यक्षमा देवेन्द्र पोखरेल र महिला सदस्यमा अनिता अधिकारी कार्कीकाे एक्लाे उम्मेदवारी परेकाेले उनीहरू निर्वाराेध निर्वाचित भएका छन्। त्यस्तै सदस्यहरूमा अम्बरबहादुर भण्डारी, विकास कोइराला, निर्मलकुमार प्याकुरेल, मित्रप्रसाद अधिकारी, पंकज कार्की, मो. जाहीर रहमान, सुरज रेग्मी, नेत्रप्रसाद पौडेल, प्रकाश कार्की, नेत्रप्रसाद पोखरेल, रमलादेवी बराल अधिकारी र हेमकुमार घिमिरेले उम्मेदवारी दिएको निर्वाचन अधिकारी चन्द्रप्रसाद चुडालले जानकारी दिए । उनका अनुसार पूस २४ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने जनाएको छ ।