२०८३ बैशाख ३ गते , विहीबार

अन्ततः अवकाशको अघिल्लो दिन थपियो सशस्त्रका ४ डीआईजीको म्याद

sajilo news
पत्रपत्रिका
२०८१ पौष २४ गते , बुधबार
अन्ततः अवकाशको अघिल्लो दिन थपियो सशस्त्रका ४ डीआईजीको म्याद

सरकारले अन्तिम समयमा सशस्त्र प्रहरीका चार नायब महानिरीक्षक (डीआईजी)हरूको पदावधि थप गरेको छ । पदावधि सकिन केही घन्टा मात्र बाँकी रहेका बेला मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको म्याद थप गरेको हो ।

म्याद थप भएका डीआईजीहरूमा सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत कमल गिरी, नं. १ बराह बाहिनी मुख्यालय पकली सुनसरीका प्रमुख शम्भु सुवेदी, नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका प्रमुख गणेश ठाडामगर र नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखरा कास्कीका प्रमुख कुलबहादुर नेम्वाङ छन् ।

म्याद थप्न र नथप्न भएको चर्काे लबिइङबीच मन्त्रिपरिषद् बैठकले उनीहरूको म्याद थप गरेको हो । म्याद थप नभएको भए यी चार जना डीआईजी सेवा प्रवेश गरेको २५ देखि २७ वर्षमै अवकाशमा जाने थिए ।

सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ को (ग) अनुसार सशस्त्रका डीआईजीको पदावधि ४ वर्षको हुन्छ । तर, नियमावलीको दफा ६५ कै (ग)को उपनियम (२) मा सशस्त्र प्रहरी महानिरीक्षक (आईजी)को सिफारिसमा नेपाल सरकारले एआईजी र डीआईजीको पदावधि ४ वर्षपछि १ वर्ष थप्न सक्ने उल्लेख छ ।

१ वर्ष म्याद थप भएकाले उनीहरू चार जनामध्ये एक जना अब सशस्त्र प्रहरीको नेतृत्वमा पुग्नेछन् भने दुई जना सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बन्नेछन् ।

म्याद थप गरिएका डीआईजीहरू गिरी र ठाडामगर ३ असार २०५६ मा प्रहरी निरीक्षकमा प्रवेश गरी सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए । वरीयतामा गिरी एक नम्बरमा रहेकाले उनलाई भावी नेतृत्वको रूपमा हेरिँदै आएको छ ।

नेम्वाङ भने उनीहरूपछिको वैकल्पिक सूचीमा थिए । सुवेदी वर्तमान आईजीपी राजु अर्याल, एआईजीद्वय नारायणदत्त पौडेल र वंशीराज दाहालका ब्याची हुन् । १८ चैत २०५४ मा प्रहरी निरीक्षकमा भर्ना भएका उनीहरू पछि सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए ।

उनीहरूको म्याद थप नभएको भए सशस्त्र प्रहरीमा एकदेखि पाँच नम्बरसम्मको वरीयतामा नेपाल प्रहरीमा प्राविधिकमा भर्ना भएर सशस्त्रमा स्थानान्तरण भएका डीआईजीहरू हुने थिए । तर, एक नम्बरको वरीयताका किशोर प्रधान ४ जोड १ का कारण आगामी ९ माघ राति अवकाशमा जानेछन् । उनी ८ मंसिर २०५५ मा प्रहरी सेवामा प्रवेश गरेका थिए ।

प्रधानको अवकाशपछि नेपाल प्रहरीमा प्राविधिक सईमा भर्ना भएकाहरू (जसलाई अब प्राविधिक भन्न मिल्दैन)मध्ये कालीदास धौबजी, कुमार न्यौपाने, लक्ष्मणबहादुर सिंह र प्रदीप पाल हाल म्याद थप भएका चार जना डीआईजीपछिको वरीयतामा रहनेछन् । नेपाल प्रहरीमा उनीहरूका ब्याची अहिले डीएसपी र एसपीमा छन् ।

उनीहरूपछि मात्रै सशस्त्र प्रहरीको सिसम १ सशस्त्र प्रहरी निरीक्षक टोलीका पाँच जना डीआईजी छन् । सिसम १ टोलीका डीआईजीमा वरीयतामा क्रमशः सुरेशकुमार श्रेष्ठ, अञ्जनी कोइराला, दीपेन्द्र शाह, पुरुषोत्तम थापा र दीपक अधिकारी डीआईजी छन् । अधिकारी भने अन्य चार जनाभन्दा पछि डीआईजीमा बढुवा भएका हुन् । आजको राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित समाचार