भद्रपुरमा 'आमासँग नगर उपप्रमुख कार्यक्रम' को शुभारम्भ
भद्रपुरमा 'आमासँग नगर उपप्रमुख कार्यक्रम'को सुरुवात गरिएको छ । नगर स्वास्थ्य शाखाले शुक्रवारदेखि भद्रपुर- ६ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट 'आमासँग नगर उपप्रमुख कार्यक्रम २०८१' को शुभारम्भ गरेको हो ।
नगर भित्रका सम्पूर्ण गर्भवती तथा सुत्केरी महिलाहरूको स्वास्थ्य अवस्था थप सुधारका लागि क्याल्सियम चक्की र एक थान झुल वितरण कार्य गरी कार्यक्रमको सुरुवात गरिएको स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए ।
यस कार्यक्रममा झुल प्राप्त गर्नका लागि कम्तीमा पनि ४ पटक अनिवार्य स्वास्थ्य संस्थामा गई गर्भ जाँच गराउनु पर्ने साथै अनिवार्य स्वास्थ्य संस्थामा सुत्केरी गराउनु पर्ने हुन्छ । सबै लक्षित समूहमा पर्नु हुने गर्भवती तथा सुत्केरी महिलाहरूले आआफ्नो नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी सेवा लिनु हुन नगरपालिकाले अनुरोध गरेको छ ।
कार्यक्रम भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल, नगर उपप्रमुख राधा कार्की, स्वास्थ्य शाखा प्रमुख शान्तिराम भट्टराई लगायतको उपस्थिति रहेको थियो ।