२०८३ बैशाख ४ गते , शुक्रबार

मेचीनगरलाई क्षयरोगमुक्त पालिका बनाउने अभियान सुरु

sajilo news
झापा
२०८१ माघ ११ गते , शुक्रबार
मेचीनगरलाई क्षयरोगमुक्त पालिका बनाउने अभियान सुरु

मेचीनगर । मेचीनगर नगरपालिकालाई क्षयरोग मुक्त नगरपालिका बनाउने अभियान सुरु गरिएको छ । सोही अनुसार मेचीनगरले क्षयरोग मुक्त पालिका बनाउने गरी विभिन्न कार्यहरू थालेको हो ।     

क्षयरोग मुक्त पालिका घोषणा अभियान अन्तर्गत आज मेचीनगर  आधारभूत स्वास्थ्य अस्पताल वडा नं १०  धुलाबारीमा एआई एक्स-रे प्रविधिको प्रयोग बाट नगरवासीको एक्स-रे सेवा प्रदान गरेको थियो । जसमा २६७ जनाको एक्स-रे गरे । त्यस्तै ३०० जनाको रगत र पिसाबको नि:शुल्क जाँच गरिएको छ ।

झापा पनि क्षयरोगको उच्च जोखिममा रहेको जिल्ला मानिन्छ । त्यस मध्ये मेचीनगर पनि अछुतो छैन । त्यसैलाई मध्यनजर गर्दै मेचीनगरले ‘स्थानीय साधन र स्रोतको प्रयोग गरेर क्षयरोग निवारणका लागि विभिन्न कार्यक्रमहरू अगाडि बढाएको मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी बताउँछन् ।रोग पालेर होइन निको पारेर अगाडि बढ्नुपर्ने बताउँदै उनले क्षयरोग निवारणका लागि सबै लागि पर्नुपर्ने बताए । 

 ‘क्षयरोग मुक्त गर्न चुनौती धेरै छन् । तर हामी योजना बनाएर काम गर्न लागि परिरहेका छौँ ।’ उनले भने, क्षयरोग मुक्त पालिका घोषणा गर्न स्वास्थ्य शाखा र मातहतका निकायहरू कटिबद्ध भएर अगाडि बढिरहेको जनाए ।गरिबी, बसाइसराइलगायतका समस्याका कारण क्षयरोग फैलँदै गएको छ । स्वास्थ्य संस्थामा यसको उपचार निःशुल्क हुन्छ । स्वास्थ्य संस्थाले हरेक वर्ष क्षयरोग फैलन नदिन खोजपड्ताल कार्यक्रम गर्ने, क्षयरोगीको सम्पर्क र आसपासमा रहेकालाई परीक्षणको दायरामा ल्याउने कार्य गर्दै आएको मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेती बताउँछिन् । यसले पनि अब मेचीनगरमा क्षयरोगको अन्त्य गर्न मद्दत पुग्ने उनको भनाइ छ ।

सबै क्षयरोगका बिरामीको पहिचान गरी उपचारको दायरामा ल्याएर क्षयरोगको अन्त्य गर्न सकिने भए पनि अझै जनचेतनाको कमी, रोग लुकाउने, नियमित औषधि सेवन नगर्ने कारणले क्षयरोग निवारणमा समस्या भएको मेचीनगर स्वास्थ्य शाखा प्रमुख सावित्रा सापकोटा बताउँछिन् ।  उनले कार्यक्रमअन्तर्गत पालिकाले क्षयरोगका बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने, घोषणा गर्ने, घरधुरी सर्वेक्षण गर्ने, शङ्का लागेकाको परीक्षण गर्ने, वडा स्तरमा सूक्ष्म योजना बनाएर लागि परिरहेको जनाइन् । सरकारले दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म नेपाललाई क्षयरोग मुक्त बनाउने अभियान थालेको छ ।  

सम्बन्धित समाचार