२०८३ बैशाख ३ गते , विहीबार

ट्रम्प प्रशासनद्वारा आप्रवासीलाई देश निकाला, अमेरिका छोड्नुपर्ने नेपालीको सङ्ख्या १,३६५

sajilo news
पत्रपत्रिका
२०८१ माघ १७ गते , विहीबार
ट्रम्प प्रशासनद्वारा आप्रवासीलाई देश निकाला, अमेरिका छोड्नुपर्ने नेपालीको सङ्ख्या १,३६५

अमेरिकामा ट्रम्प प्रशासनले कागजपत्रविहीन आप्रवासीलाई पक्राउ गर्ने अभियान तीव्र पार्न निर्देशन दिएको छ। जसअनुसार इमिग्रेसन एन्ड कष्टुम इन्फोर्समेन्ट (आइस) लाई दैनिक १ हजार ५ सयसम्म पक्राउ गरी निर्वासन अभियान तीव्र पार्न निर्देशन दिइएको हो। अमेरिकाको अदालतबाट देश निकालाको आदेश पाएका १४ लाख ४५ हजार ५ सय ४९ जनालाई आइसले पक्राउ अभियान सुुरु गरेको हो। जसअनुसार न्युयोर्क, टेक्सस लगायतका राज्यबाट दैनिक ठूलो संख्यामा आप्रवासी पक्राउ परिरहेका छन्।

पक्राउ पर्नेहरू अमेरिकाको अदालतबाट डिपोर्टेसन अर्थात् देश निकालाको आदेश पाएकाहरू तथा आपराधिक क्रियाकलापमा दोषी ठहरिएकाहरू हुन्। अन्नपूर्ण पोस्ट्ले हिजोको अंकमा अमेरिकामा रहेका सबै आप्रवासी आतिनु नपर्नेबारे समाचार प्रकाशित गरिसकेको छ। हाल ट्रम्प प्रशासनले अमेरिकामा कागजी प्रक्रियामा नगएका, अदालतबाट देश निकालाको आदेश पाएकाहरूलाई धरपकड गरेको छ। अमेरिकामा ग्रिन कार्डको प्रक्रिया थालनी गरेका आप्रवासीहरूको हकमा धरपकड हुँदैन। उनीहरू आतिनुपर्ने र डराउनुपर्ने छैन। आइसले धरपकडका क्रममा सोधपुछ भने गर्न सक्दछ।

अन्नपूर्ण पोस्ट्ले न्युयोर्कका केही कानुन व्यवसायीहरूसँग गरेको कुराकानीअनुसार अहिले आइसले कागजपत्रविहीनहरूलाई देश निकालाको कार्य तीव्र पारेका कारण आफूसँग भएको यथेष्ठ प्रमाण बाकेर हिँड्न सुझाव दिएका छन्। सोधपुछ तीव्र भएकाले आफूसँग भएको ग्रिन कार्ड, वर्क परमिट, भिसा या उपलब्ध परिचयपत्र बोकेर हिँड्नुपर्ने कानुन व्यवसायीहरूको सुझाव छ। हाल अमेरिकामा अदालतबाट देश निकालाको आदेश पाएका नेपालीहरूको संख्या निकै न्यून रहेको तथ्यांकले देखाउँछ। तथ्यांकअनुसार १ हजार ३ सय ६५ जना नेपालीहरूले अदालतबाट देश छोड्नुपर्ने आदेश पाएका छन्। स्रोतका अनुसार तीमध्ये केहीले अदालतको आदेशपछि ग्रिन कार्डका लागि अन्य प्रयासहरूसमेत गरेको हुन सक्ने बताइन्छ।

यदि नेपालको टीपीएस नवीकरण नभएमा त्यो संख्या करिब ३ हजार पुग्न सक्छ। हाल करिब १५ जना नेपालीहरू टीपीएस स्टाट्समा छन। सुुरुवातमा करिब ८÷९ हजार नेपाली टीपीएसमा रहेको भए पनि यो बीचमा उनीहरूले बिभिन्न माध्यबाट ग्रिन कार्डको प्रक्रियामा गएको र केही स्वतः नेपाल फर्किएको तथ्यांकले देखाउँछ।

अमेरिकाबाट देश निकालाको आदेश पाउनेहरू सीमानासँग जोडिएको क्यानडा र मेक्सिकोदेखि विश्वका सबै मुलुकका मानिसहरू छन्।  क्यानडाका १ हजार २ सय ९० जना नागरिकले अमेरिकाबाट देश निकालाको आदेश पाएको सूची सार्वजनिक भएको छ।यस्तै, नेपालको सीमानासँग जोडिएको देश चीन र भारतबाट पनि देश निकालाको आदेश पाउनेको संख्या ठूलै छ। चीनबाट ३७ हजारभन्दा बढीले देश निकालाको आदेश पाएका छन्। नेपालको सीमानासँग जोडिएको अर्को देश भारतबाट करिब १७ हजार ४० जना छन्।

देश निकालाको आदेश पाउनेहरूमा सबैभन्दा धेरै सेन्ट्रल अमेरिकाबाट छन्। जसअनुसार मेक्सिकोका करिब २ लाख ५२ हजार नागरिकले देश निकालाको आदेश पाएको सूची छ। 

यस्तै एल साल्भाडोरका २ लाख ३ हजार, ग्वाटेमालाका २ लाख ५३ हजारभन्दा बढी नागरिकले अमेरिकाबाट देश निकालाको आदेश पाएका छन्।  यस्तै होन्डुरसका २ लाख ६१ हजारभन्दा बढी छन्। आइसलाई संघीय निकाय एफबीआईले पनि देश निकालाको अभियानमा साथ दिइरहेको छ। आजको अन्नपूर्ण पोष्टमा खबर छ । 

सम्बन्धित समाचार