२०८३ बैशाख ३ गते , विहीबार

ओडिसामा नेपाली छात्रा मृत्यु प्रकरण : दबाबपछि निकालिएका विद्यार्थीलाई फर्किन विश्वविद्यालयले गर्‍यो आह्वान

sajilo news
झापा
२०८१ फाल्गुन ५ गते , सोमबार
ओडिसामा नेपाली छात्रा मृत्यु प्रकरण : दबाबपछि निकालिएका विद्यार्थीलाई फर्किन विश्वविद्यालयले गर्‍यो आह्वान

भारतस्थित नेपाली दूतावासले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली छात्राको मृत्यु प्रकरणमा निष्पक्ष छानबिनको माग गरेको छ।  नयाँ दिल्लीस्थित नेपाली दूतावासले आज साँझ एक विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछिका घटनाक्रमलाई लिएर सम्बन्धित विश्वविद्यालयका रजिष्ट्रारदेखि केन्द्र सरकार तथा उडिसा राज्यको मुख्यमन्त्री कार्यालय र अन्य सम्बन्धित भारतीय निकायसँग निरन्तर सम्पर्क गरिरहेको जनाएको छ।

विश्वविद्यालयको लापरबाहीका कारण नेपाली छात्राको मृत्यु भएको भन्दै विद्यार्थी आन्दोलित भएपछि केआईआईटी प्रशासनले नेपाली विद्यार्थीलाई तत्काल क्याम्पस खाली गर्न उर्दी जारी गरिएको थियो।

विद्यार्थीले विश्वविद्यालय छाड्न नमानेपछि ५ सयभन्दा बढी नेपाली विद्यार्थीलाई होस्टेलबाट जर्बजस्ती उठाएर विभिन्न रेल स्टेसनमा लगि छाडिएको थियो। नेपाली विद्यार्थीमाथि लछारपछार गर्दै कुटपिटसमेत भएको छ। 

उक्त घटनाको भारत र नेपालमा तीव्र आलोचना भएपछि विश्वविद्यालय प्रशासनले एक विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थीलाई होस्टलमा फर्कन आग्रह गरेको छ।

नेपाली विद्यार्थी लम्सालले आत्महत्या गरेको आशंका गरिएको छ। घटनाको प्रहरी प्रशासनले अनुसन्धान गरिरहेको जनाइएको छ। लम्साल केआईआईटीमा बिटेक तेस्रो वर्षमा अध्यनरत थिइन्।

 

सम्बन्धित समाचार