आज मंगल चौथी, भगवान् गणेशको पूजा-आराधना गरिँदै
मंगल चौथी। चतुर्थी तिथि र मंगलबारको संयोगमा सनातन धर्मावलम्बी मंगल चौथी पर्व मनाउँछन्। यो दिन विशेषगरी भगवान् गणेशको आराधना गर्ने परम्परा छ। चौथीकै दिन गणेशजीको जन्म भएको पुराणमा उल्लेख छ। यस्तै मंगलबारका ‘स्वामी’ पनि गणेश नै मानिएका छन्। तिथि र बारको संयोग भएको यो दिनमा उनको आराधना उपयुक्त मानिन्छ।
सिन्दुर, रक्तचन्दन, फूल, अक्षता, दुबो, जनै, फल-नैवेद्य आादि अर्पण गरेर उनको पूजा गरिन्छ। यो दिन विशेषगरी २१ दुवो र २१ लड्डु चढाएर भगवान् गणेशको पूजा गर्ने विधि ५। ‘ॐ गणपतये नमः’ यो वचन प्रयोग गरी पूजासामग्री चढाउने विधि उल्लेख छ।
शिव र पार्वतीका पुत्र गणेश बिघ्नहर्ता र सबै कार्यमा सिद्धि प्रदान गर्ने देवता हुन्। विद्याबुद्धि र सन्तानप्राप्तिको कामना गर्दै उनको आराधना गरिन्छ।
मंगल चौथीका अवसरमा विनायक मन्दिरमा श्रद्धालुको घुइँचो लाग्छ। काठमाडौं उपत्यकामा चार विनायक (सूर्य–चन्द्र–मरु–जल) का साथै कार्यविनायक र कमलविनायकलगायत मन्दिर यो दिनका गन्तव्य हुन्। यसअघि मंसिर ४ गते मंगल चौथी परेको थियो।