जेलमा रहेका इमरान खान नोबेल शान्ति पुरस्कारका लागि मनोनित
पाकिस्तानको जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानलाई नोबेल शान्ति पुरस्कारको लागि मनोनयन गरिएको छ। राष्ट्रिय कोष हिनामिना गरेको आरोपमा इमरान खान २०२३ देखि जेलमा छन्।
नर्वेको राजनीतिक दल पार्टीट सेन्ट्रमसँग सम्बन्धित पाकिस्तान वर्ल्ड एलायन्स (PWA) ले पाकिस्तानमा मानव अधिकार र लोकतन्त्रको प्रवर्द्धन गर्ने कार्य गरेको हुनाले इमरान खानको मनोनयनको घोषणा गरेको जनाइएको छ।
पार्टी सेन्ट्रमले आइतबार सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखेको छ, 'पार्टीट सेन्ट्रमको तर्फबाट हामी यो घोषणा गर्न पाउँदा खुसी छौं कि हामीले मनोनयन गर्ने अधिकार भएका जो कोहीसँग मिलेर पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई नोबेल शान्ति पुरस्कारको लागि मनोनित गरेका छौं।'
२०१९ मा पनि मनोनित
इमरान खानलाई सन् २०१९ को नोबेल शान्ति पुरस्कारको लागि पनि मनोनयन गरिएको थियो। यो मनोनयन भारतसँगको तनाव कम गर्न २०१९ मा गरिएको थियो। उनको समर्थनमा पाकिस्तान संसदमा एक प्रस्ताव पेश गरिएको थियो जसमा इमरान खानले बालाकोट हवाई आक्रमण पछि भारतसँगको तनाव कम गर्ने प्रयास गरेका जनाइएको थियो।
यस वर्ष नोबेल शान्ति पुरस्कारका लागि ३३८ मनोनित
२०२५ को नोबेल शान्ति पुरस्कारको लागि ३३८ मनोनयनहरू छन्। यी मध्ये २४४ जना व्यक्ति र ९४ संस्थाहरू छन्। गत वर्ष यस पुरस्कारका लागि २८६ जना मनोनित भएका थिए। २०१६ मा सबैभन्दा धेरै ३७६ मनोनयनहरू आएका थिए। २०२५ को नोबेल शान्ति पुरस्कारको लागि मनोनयनको अन्तिम मिति जनवरी ३१ सम्म रहेको थियो।